लीलाधर वली
घोराही, मङ्सिर ८ गते । दाङ जिल्ला माछामा आत्मनिर्भरको बाटोमा अगाडि बढेको छ । जिल्लामा माछापालन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।
माछाका लागि अरू जिल्लाको भर पर्ने दाङले अहिले बर्सेनि करिब ६०९ मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले जानकारी दिनुभयो । “जिल्लामा उत्पादन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्ने अवस्था बन्न थालेको छ,” उहाँले भन्नुभयो, “करिब पाँच प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ ।” जिल्लामा अहिले करिब १९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा ११५ हेक्टरमा र अन्य प्राकृतिक तथा कृत्रिम जलाशयमा माछापालन हुने गरेको छ । जिल्लामा करिब २८५ जना माछापालक कृषक छन् ।
कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको दाङमा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेको छ । चौधरीका पङ्गास प्रजातिका बैखालगायतका माछापालन हुन थालेको छ ।
जिल्लामा वार्षिक रूपमा उत्पादन हुने माछाको बजार भने बाह्रै महिना धान्ने अवस्थामा अझै पुग्न भने सकेको छैन । खास गरी चैत्र, वैशाख, जेठ महिनामा जिल्लाको आन्तरिक उत्पादनले बजार धान्न नसक्दा माछा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको छ । व्यावसायिक रूपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र राज्यले माछापालनका लागि कृषकलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुचि बढ्दै गएको उहाँ बताउनुहुन्छ ।
राज्यले कृषकलाई माछापालनका लागि प्रोत्साहन गर्नका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेकाले पनि जिल्लामा पछिल्लो समय माछापालन बढ्दै गएको उहाँ बताउनुहुन्छ ।