• २ जेठ २०८२, शुक्रबार

निःशुल्क रगत पाउनै गाह्रो

blog

लीलाधर वली 

घोराही, मङ्सिर ८ गते । गत कात्तिक २७ गते घोराही उपमहानगरपालिका–५ निवासी दीपिका रावतको प्रसूति हुने मिति तोकिएको थियो । चिकित्सकको सल्लाह अनुसार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनुभएकी दीपिकाको प्रसूति सामान्य नहुने भयो ।

चिकित्सकका अनुसार उहाँको शल्यक्रिया गर्नुपर्ने भयो । त्यसका लागि रगत आवश्यक प¥यो । शल्यक्रियाका लागि रगत आवश्यक पर्ने भएपछि श्रीमान् रगत लिन रक्तसञ्चार केन्द्रमा पुग्नुभयो । त्यहाँ उहाँले घोराही उपमहानगरपालिकाले निःशुल्क रगतको व्यवस्था मिलाएको सुन्नुभयो र निःशुल्क रगतका लागि आग्रह गर्नुभयो तर पाउनुभएन । रक्तसञ्चार केन्द्रले निःशुल्क रगत पाउनका लागि वडाको सिफारिस चाहिने बतायो । बिरामीका श्रीमान् विजय रावतले दुई हजार रुपियाँ तिरेर आवश्यक रगत ल्याएको बताउनुहुन्छ । 

बिरामीका लागि तत्काल रगत आवश्यक परेकाले दुई हजार रुपियाँ तिरेर दुई ‘पिन्ट’ रगत ल्याएपछि शल्यक्रिया भयो । निःशुल्क रगतका लागि घोराही–५ मा रहेको वडा कार्यालय धर्ना पुग्नुपर्ने थियो तर शुक्रबार भएकाले कार्यालय बिदा भइसकेको थियो । निःशुल्क रगतको घोषणा गरेको उपमहानगरले तोकिएको सर्त पालना नभए रक्तसञ्चार केन्द्रले रगत निःशुल्क दिँदैन । केन्द्रका अनुसार निःशुल्क रगतका लागि सुरुमा वडाको सिफारिस अनिवार्य चाहिन्छ । त्यही सिफारिस नभएकै कारण घोराही उपमहानगरपालिका–१९ निवासी एक बिरामी निःशुल्क रगत पाउनबाट वञ्चित हुनु प¥यो । बिरामी भएर प्रतिष्ठान भर्ना हुनुभएका ती बिरामीलाई चिकित्सकले शरीरमा रगतको मात्र कमी भएको भन्दै चढाउनुपर्ने बताउनुभयो । त्यसका लागि रक्तसञ्चार केन्द्रमा जान भनेपछि बिरामीका आफन्त रगत ल्याउन गए तर निःशुल्क रगत पाएनन् । 

घोराही उपमहानगरले गत साउनदेखि लागु हुने गरी उपमहानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अन्तर्गत रक्तसञ्चार केन्द्रसँग उपमहानगरको सम्झौता भयो । सम्झौता अनुसार उपमहानगरवासीको हकमा रक्तसञ्चार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउने उल्लेख छ । 

उपमहानगरवासीलाई दिएको निःशुल्क रगतको रकम भने उपमहानगरले केन्द्रलाई उपलब्ध गराउने गरेको छ तर निःशुल्क रगत लिनका लागि वडाको सिफारिस अनिवार्य हुनुपर्ने सर्त कायम गरिएको छ । जसले गर्दा बिरामीका लागि तत्काल चाहिने रगत लिन बिरामीका आफन्त वडा कार्यालयमा सिफारिस लिन जान सक्ने अवस्थै रहन्न । घोराही उपमहानगरपालिकाले निःशुल्क रगत घोषणा गरे पनि धेरै नागरिक निःशुल्क रगत पाउनबाट वञ्चित भइरहेको अवस्था छ ।