क्षेत्रफल तथा जनसङ्ख्याको आधारमा चन्द्रपुर नगरपालिका रौतहट जिल्लाकै ठुलो नगरपालिका हो । साबिकका पाँच वटा गाउँ विकास समिति चन्द्रनिगाहपुर, जुडीबेला, पौराई, सन्तपुर (मटिऔन) र डुमरियालाई गाभेर चन्द्रपुर नगरपालिका बनेको हो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकालाई पूर्वमा बागमती नदी, पश्चिममा धन्सार खोला, उत्तरमा मकवानपुरसँग जोडिएको चुरे पर्वत र दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिकाले छोएको छ । कुल १० वटा वडा रहेको यस नगरपालिकाको क्षेत्रफल २४९.६ वर्ग किमी छ । विसं २०७८ को जनगणना अनुसार नगरपालिकाको जनसङ्ख्या ८१ हजार ८०९ रहेको छ । यस्तै ऐतिहासिक महत्व रहेको पौराई ब्रह्मस्थान, निजानन्द धाम, कोटीहोम क्षेत्रलगायतका धार्मिक र सांस्कृतिक केन्द्रले नगर सुन्दर देखिन्छ । २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा पालिकाको वडा नम्बर ५ मा वडाध्यक्षमा निर्वाचित हुनुभएका सञ्जयकुमार काफ्ले २०७९ सालको स्थानीय निर्वाचनमा चन्द्रपुर नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख काफ्लेसँग गोरखापत्रका रौतहट समाचारदाता यादवराज पुरीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
नगरपालिकाको प्रमुखमा निर्वाचित भएयता हालसम्म गरिएका महत्वपूर्ण काम के के छन् ?
नगर प्रमुखको हैसियतले डेढ वर्षको अवधिमा वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गनजिकै मधेश प्रदेशकै गौरवको योजना रहेको १० वटा विद्युतीय सवारी चार्ज गर्न सकिने चार्जिङ सेन्टरको स्थापना गरिएको छ । किसानका आय आर्जन वृद्धि गर्ने उद्देश्यले वडा नम्बर १० बरेडवामा ५०० मेट्रिक टन खाद्यान्न भण्डारण गर्न सकिने क्षमता भएको शीतभण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शीतभण्डारमा खाद्यान्न मात्र भण्डारण गरिने भएकाले खाद्यान्नको बजार भाउ वृद्धि भएको समयमा बिक्री गरी किसानले आम्दानी बढाउन सक्ने छन् ।
नगरपालिकामा दिगो आन्तरिक स्रोतको अवस्था कस्तो छ ?
पालिकाले नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवाको व्यवस्थित उत्खनन गरी आम्दानी वृद्धि गर्न चाँदी र बागमती नदीलाई ठेक्का लगाइएको छ । जसबाट वार्षिक सात करोड रुपियाँ आम्दानी हुन्छ । यस्तै वडा नम्बर १ मा रहेको पर्यटकीय क्षेत्र नुनथरबाट वार्षिक ३५ लाख रुपियाँ आम्दानी हुन्छ भने मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट वार्षिक करिब १० करोड रुपियाँ आम्दानी हुने गरेको छ । चालु आर्थिक वर्षमा जमिनको कारोबार घटेको हुँदा उक्त आम्दानीमा कमी आउन सक्छ । यसै गरी नगरभित्र रहेका हाटबजारबाट वार्षिक ४० लाख रुपियाँ र निकासीपैठारीबाट ४१ लाख रुपियाँ आम्दानी हुने गरेको छ । जिल्लाकै पुरानो हाटबजार चन्द्रनिगाहपुर दिगो आम्दानीको राम्रो स्रोत भएको हुँदा यसको विकास र व्यवस्थापनका लागि करिब १८ करोड रुपियाँको प्रस्ताव सम्बन्धित निकायमा पेस गरिएको छ । उक्त प्रस्ताव स्वीकृत भएमा बजार व्यवस्थित हुने पक्का छ ।
पूर्वपश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गमा अव्यवस्थित रूपमा सवारी पार्किङ हुँदा नगरवासी र यात्रीले भोग्नु परेको समस्यालाई समाधान गर्न के योजना ल्याउनुभएको छ ?
पालिकाको वडा नम्बर ४ मा रहेको प्रयोगविहीन बस पार्कलाई व्यवस्थित गर्न र त्यसको सौन्दर्य बढाउन आठ करोड रुपियाँको लागतमा ठेक्का स्वीकृत भइसकेकोले यथाशीघ्र निर्माण अघि बढाइने छ र गौर–चन्द्रनिगाहपुरबाट छुट्ने र अन्य स्थानबाट आउने बसको पार्किङ व्यवस्थित हुनेछ । पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दुरीको यातायातका लागि चार्जिङ सेन्टर भएको स्थानमा होल्डिङ सेन्टर निर्माण हुँदै छ । जुन छिट्टै नै प्रयोगमा आउँदै छ ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्वपूर्ण कार्य के के छन् ?
चन्द्रपुर सरकारी अस्पताल मधेश प्रदेशकै दोस्रो उत्कृष्ट अस्पतालका रूपमा मूल्याङ्कन भएको छ । अस्पतालमा एक जना एमडी र चार जना एमबिबिएस डाक्टरको व्यवस्था गरी स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । पालिकाले गरिब तथा विपन्न वर्गको आर्थिक समस्या र स्वास्थ्य सेवाको पहुँचलाई ध्यानमा राखेर प्रत्येक वर्ष एउटा वडाबाट सय जना नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको छ । जसबाट पालिकाको १० वटा वडाबाट एक हजार जना नागरिकले स्वास्थ्य बिमा सेवा पाइरहेका छन् । अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले एक करोड रुपियाँ र पालिका आफैँले दुई करोड रुपियाँ लगानी गर्ने भएको छ । यस्तै वडा नम्बर १ मा पाँच शøयाको ट्रमा सेन्टर स्थापना गरिँदै छ भने सोही वडाको बागमतीमा स्वास्थ्य परीक्षणका लागि निःशुल्क ल्याबको व्यवस्थापन गरिएको छ ।
पालिकामा रहेका विभिन्न तहका ४६ वटा विद्यालयको पालिकाले नियमित रूपमा नियमन र निरीक्षण गर्दै आएको छ । हालै ती विद्यालयमा अपुग रहेका शिक्षकको तथ्याङ्क निकाली २१ जना शिक्षक करारमा नियुक्ति गरिएको छ । पालिकाका अधिकांश विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइएको छ । जसका लागि नगरपालिकाले आर्थिक सहयोग जुटाउने व्यवस्था गर्दै छ ।
नगरपालिकामा चुनौती के के छन् नि ?
अहिलेसम्म नगरपालिकाको नाममा जग्गाधनी पुर्जा छैन । वनको जमिनमा पालिकाको संरचना निर्माण भएको छ । बेला बेलामा डिभिजन वन कार्यालयले वनको जमिन वन नै उपभोग गर्न दिनु भनी विवाद गर्नाले पालिकालाई चुनौती थपिएको छ । पालिकाको स्वामित्वमा रहेको मरधर सिमसारको २५ बिघा जमिन तत्कालीन वन सुदृढीकरण आयोगले व्यक्तिको नाममा जग्गाधनी पुर्जा वितरण गरेपछि उक्त क्षेत्रफलको जमिन पालिकाको स्वामित्वमा ल्याउन पनि चुनौतीको विषय बनेको छ ।
चन्द्रपुर नगरपालिकाबाट मुलुकको अन्य स्थानीय तहले सिक्नुपर्ने के छ ?
जनप्रतिनिधि भनेको जनताको काम गर्ने प्रतिनिधि पात्र भएको हुँदा हरेक काम जनमुखी र जनकल्याणको लागि गरिनुपर्ने धारणा मेरो हो । त्यसप्रति म आफू पनि प्रतिबद्ध छु । चन्द्रपुर नगरपालिकाले कार्यान्वयन गरेको निःशुल्क स्वास्थ्य बिमाको अनुशरण सबै स्थानीय तहले गरेमा गरिब तथा विपन्न वर्गका मानिसले सहज रूपमा स्वास्थ्य लाभ लिन्थे ।