• १३ साउन २०८१, आइतबार

हिमाली जिल्लामा पनि लटरम्म फल्यो अङ्गुर

blog

रोकायाको बारीमा फलेको अंगुर । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ३० गते । तराईमा फल्ने अङ्गुर हिमालमा लटरम्मै फल्न थालेको छ । पछिल्ला बर्सहरूमा तापक्रममा आएको परिबर्तनसँगै तीन हजार मिटरसम्मको उचाइ रहेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पनि अङ्गुर फल्न थालेको हो । 

 बिआर कृषि तथा पशु अर्ग्यानिक फर्मका सञ्चालक गगन रोकायाले कालो रङ्गको अङ्गुर मध्यपहाडमा पनि फल्न सक्ने तालिम लिनेक्रममा जानकारी पाएपछि आफ्नो बारीमा दुई बोट अङ्गुर लगाएको बताउनुभयो । यो वर्षसहित उहाँको बारीमा लगाएको अङ्गुर फल्न थालेको चार वर्ष भएको छ  । 

उहाँ कृषि प्राविधिक समेत रहेको र हाल कृषिसम्वन्धि काम गर्ने गैरसरकारी संस्थामा काम गर्दै आउनुभएको छ । उहाँले आफ्नो अनुभव सुनाउँदै बर्सेनि फल दिनेक्रम वृद्धि भएको बताउनुभयो । २०७७ सालमा पहिलो पटक लगाएका अङ्गुरका बोटबाट दुई झुप्पा अङ्गुर फलेर एक केजी जति अङ्गुर पाकेको बताउनुभयो । 

दोस्रो वर्ष त्यही बोटबाट १२ केजी अङ्गुर फलेको र स्वाद केही कम अमिलो आएको उहाँको भनाइ छ । गतवर्ष रोकायाका बारीमा लगाएका अङ्गुरका बोटबाट २० केजी फल उत्पादन भएको थियो । यसवर्ष भने सोही बोटमा झन् बढी फलेको छ । ३५ केजी अङ्गुर फलेको उहाँले बताउनुभयो । अङ्गुरका बोट पनि दश मिटर लामो भएको छ । 

यसवर्ष फलेको अङ्गुर मिठो हुन थालेको उहाँको भनाइ छ । बर्खामा बढी पानी परेको कारण केही फल नपाक्लाकि भन्ने चिन्ता रोकायामा रहेको थियो । उहाँले फल पनि ढिलै पाक्ने र फलको भित्र बिया पनि ठुलै रहेको बताउनुभयो । पाकेको फल खानेक्रममा भित्रको हड्डी छुट्टिने गरेका छन् । उहाँले अङ्गुर फलेको देख्दा यसको सम्भावना बढी देखिएको भएपनि स्वाद अमिलो भएको कारण हावापानी अनुसारको अङ्गुर लगाउन अध्ययन आवश्यक रहेको बताउनुभयो ।

यसअघि खार्पुनाथ गाउँपालिका–१ को चिसामुलमा पनि अङ्गुर फलेको थियो । जुन स्थान सिमकोटभन्दा कम उचाइमा रहेको छ । तीन हजार मिटर अग्लो क्षेत्रमा अङ्गुर फल्न थालेपछि जिल्लाको दक्षिणी क्षेत्रमा यो खेती लगाउनु आवश्यक रहेको भनाइ सिमकोट गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीको भनाइ छ । 

उहाँले सिमकोटको अङ्गुर अमिलो भएको, राम्रो फल दिने र बोटमा लटरम्म फल्न थालेपछि दक्षिणी क्षेत्रमा परीक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । अदानचुली गाउँपालिकाको मकै र सर्केगार्ड गाउँपालिकाको तुम्चलाई हुम्लाको तराईका रूपमा चिनिँदै आएको छ । ती क्षेत्रमा केरा, सुन्तला फल्दै आएको छ । 

उच्च हिमाली क्षेत्रमा अङ्गुर फल्न थाल्नु तापक्रममा आएको वृद्धि मुख्य कारण रहेको कृषि विकास कार्यालयले जनाएको छ ।