दैलेख समाचारदाता
दैलेख, जेठ १ गते । निर्धारित समयभन्दा दुई वर्ष नाघिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक पटक म्याद थप्दा पनि निर्माणले गति लिन नसकेपछि अस्पताल भवन अझै अधुरै बनेको छ ।
२०७८ जेठ १० गतेदेखि निर्माण सुरु भई २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ५० शय्याको सुविधासम्पन्न अस्पताल भवनको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत मात्रै पुगेको छ । १८ करोड २३ लाख ९९ हजार ३८१ रुपियाँ लागतमा निर्माणको जिम्मा पाएको श्री प्रेरा/क्याराभान/सुपरस्टार जेभीले समयमै काम सम्पन्न गर्न नसकेपछि दोस्रो पटकसम्म म्याद थप गरिएको थियो । अहिले तेस्रो पटक म्याद थपको समयसीमा २०८३ भदौ मसान्तसम्म तोकिएको छ । तेस्रो पटकमा पनि थपिएको म्यादमा समेत अस्पताल भवन निर्माण हुने कुनै आधार नदेखिएपछि स्वास्थ्य सेवा कार्यालयले निर्माण कम्पनीलाई ताकिता गरिरहेको जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक डा. मनोज विश्वकर्माले दोस्रो पटक म्याद थप गरिएको २०८२ फागुन मसान्तसम्म पनि ठेकेदारले काम नगरेपछि जिल्ला अस्पताल दैलेखले जिल्लाका नागरिक समाज, पत्रकार, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव, निर्माण व्यवसायी राखेर तत्कालका लागि भवन निर्माणको म्याद तेस्रो पटक थप गरी २०८३ भदौ मसान्तसम्म बुझाउने गरी म्याद थप गरिएको बताउनुभयो । उहाँले निर्माण कम्पनीले काम निरन्तर गरिरहेको भए पनि कामले गति लिन नसकेका कारण तेस्रो पटक म्याद थपिएको समयमा समेत भवन निर्माण सम्पन्न हुने आधार नदेखिएको बताउनुभयो ।
उहाँले निर्माण कम्पनीलाई पटक पटक काम तीव्र बनाउन आग्रह गरे पनि सुनुवाइ नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीसँग माघदेखि यता कुरा नै हुन सकेको छैन, तेस्रो पटक म्याद थप गरेको समयमा पनि अस्पताल निर्माण हुन सकेन भने कार्यालय अन्य विकल्प खोज्न बाध्य हुने छ ।” निर्माणाधीन भवन अलपत्र पर्दा अस्पतालमा शय्या अभाव भएको र बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको डा. विश्वकर्माको भनाइ छ । श्री प्रेरा/क्याराभान/सुपरस्टार जेभीका प्रोप्राइटर तारा शाहीले कोरोना महामारी, रुख कटान, आर्थिक मन्दी तथा दक्ष जनशक्ति अभावका कारण काम प्रभावित भए पनि पछिल्लो समय काम गरिरहेको बताउनुभयो । उहाँले पुस मसान्तमा उठाइएको रनिङ बिल एक करोड १७ लाख भुक्तानी भएको छैन । मूल्य दिनहुँ बढ्दो क्रममा रहेकाले त्यसका लागि प्रदेश सरकारले नै सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । १५ शय्याको जिल्ला अस्पतालले हाल ५१ शय्यासम्म सेवा दिँदै आएको छ । नयाँ भवन निर्माण ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो भवनबाटै कोचाकोच गरी बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।