अमरराज नहर्की
तनहुँ, कात्तिक २९ गते । नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर भग्नावशेष अवस्थामा देख्दा भानु जन्मेको गाउँ भानु नगरपालिका –४ चुँदीरम्घा पुग्ने जोकोही नेपालीको मन कुडिन्छ ।
भानुको योगदानलाई कदर गर्दै उहाँको जन्मस्थल चुदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनर्निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएको २० वर्ष पुगिसक्दा पनि निर्माणमा ध्यान पुग्न सकेको छैन । भानुभक्त जन्मेको घर जहाँ बसेर उहाँले काव्य रचना गर्नुभएको थियो । त्यो घर भग्नावशेष अवस्थामा रहेको छ ।
भानुको जन्मघर हेर्ने उत्कृष्ट चाहना राखेर भानु जन्मस्थल पुगेका साहित्यकारहरु जलेको घर देख्दा रुने गरेका छन् । केही वर्षअघि भानु जन्मस्थल चुँदीरम्घमा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलनमा भाग लिएका स्वदेश तथा विदेशका कविहरु भानुको जलेको घर देख्दा अधिकांश कविको आँखा रसाएको पाएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।
अधिकारीले भन्नुभयो, ‘‘भानुको घरको पुनर्निर्माण नहुनु भनेको चुँदीरम्घा, कला, साहित्य र भानुभक्तप्रति कै अपमान हो ।’’ वि.सं. २०५५ मा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले पुनर्निर्माण गरेको थियो । पुर्ननिर्माण गरेको घर २०६० वैशाख १० गतेबाट जङ्गलको पश्चिमपट्टिको भागमा लागेको आगो तीन दिनसम्म जङ्गलमा फैंलिदा आगोले जलेर पूर्ण रुपले ध्वस्त बनेको थियो ।
तत्कालीन समयमा एक लाख २६ हजार नौ सय ९५ रुपियाँमा बनाइएको घरलाई खण्डहर बनेको लामो समय बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । नेपाली भाषा दयनीय हुँदैगएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन् ।
भानु नगरपालिका –५ पुरनडिही निवासी भरत पोख्रेल स्थानीय सरकारले तत्कालै बनाउनु पर्ने बताउनुभयो । पोख्रेलले भन्नुभयो, ‘‘एउटा घर बनाउन सङ्घ तथा प्रदेशको मुख ताक्नु पर्दैन, भानुकै नामबाट बनेको भानु नगरपालिकाले बनाउन नसक्नु लज्जास्पद कुरा हो’’ ।
योगदानलाई संरक्षण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न राजनीतिभन्दा माथि उठ्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् । स्थानीय सन्देश आचार्यले भानुभक्तमाथि राजनीति नगरी उहाँले नेपाली भाषा र साहित्यमा गरेको योगदानलाई ओझेलमा पार्न नहुने बताउनुभयो ।
आचार्यले भन्नुभयो, ‘‘स्थानीयलाई अपेक्षा थियो चुँदीरम्घाले बडो तेज गतिमा उन्नती गर्छ । तर त्यसो हुन सकेन । राज्यविहीन भएजस्तो हामीलाई लागेको छ ।’’ साहित्यिक पर्यटन विकास र साहित्यको माध्यमबाट आर्थिक विकास, सिर्जनशीलता अभिबृद्धि र जीवनयापनमा उल्लेख्य परिवर्तन ल्याउनेछ, आश गरेको त्यस्तो नहुँदा दुःख लागेको उहाँले बताउनुभयो ।
भानुको जन्मस्थल क्षेत्रको विकास गरेर साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सरकारले २०५२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत रहनेगरी भानु जन्मस्थल समिति गठन गरी समितिका लागि बजेट पनि विनियोजन गर्न थालेको हो । तर, विनियोजित बजेट कार्यकारी निर्देशक र कार्यालय सञ्चालन बाहेक अन्य कर्मचारीलाई तलब खुवाउन नपुग्ने रहेको समितिका अध्यक्ष ऋषिराम पन्तले बताउनुभयो ।
भानुले आफ्नो जीवनकालमा प्रयोग गरेका घरायसी वस्तुहरू लगायतका धेरै महत्पूर्ण वस्तुहरू हाल नासिदै गएका छन् । सामग्रीलाई एउटा सङ्ग्रहालयको रूप दिएर प्रचारप्रसार गर्ने काम हुन सकेको छैन । व्यवस्थित रूपमा ती वस्तु सङ्ग्रह गरेर राख्न सकिए नेपाली भाषा साहित्यबारे रुचि राख्ने जो कोहीको आकर्षण र चासोको केन्द्र बन्न सक्ने देखिन्छ ।