• १३ साउन २०८१, आइतबार

नागरिकलाई उत्पादनसँग जोड्दै गल्याङ

blog

कृषकसँग प्राविधिक कार्यक्रम लिएर गाउँ पुगेको गल्याङ नगरपालिकाको टोली ।

राधाकृष्ण डुम्रे

वालिङ,कात्तिक २९ गते । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्ना नागरिकलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक परिवारको आधारभूत आवश्यकता परिपूर्तिका लागि उनीहरूलाई नै उत्पादनसँग जोड्नु पर्ने भन्दै पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

समृद्धि र विकास ठूला योजना र कार्यक्रमले मात्र सम्भव नहुने नगरप्रमुख गुरुप्रसाद भट्टराईको भनाइ छ । नगरवासीले आफ्नो आवश्यकताका वस्तु आफैँ उत्पादन गर्नुपर्ने र बजारमा आपूर्तिसमेत गराउने योजना पालिकाको रहेको प्रमुख भट्टराईले बताउनुभयो ।  

वास्तविक कृषकको पहुँच कमजोर रहेको र आफ्नो माग राख्न पालिकासम्म आउने अवस्था नरहेको भन्दै पालिकाले नै “कृषकसँग प्राविधिक कार्यक्रम” सञ्चालन गर्दै कृषकको घरदैलोमा पुगिरहेको छ । 

११ वटा वडा रहेको पालिकाका अधिकांश भूभाग ग्रामीण क्षेत्रमा पर्दछ जहाँ निर्वाहमुखी कृषि पेशामा अधिकांश नागरिक लागिरहेका छन् प्रमुख भट्टराईले भन्नुभयो, “यस्ता कृषकलाई उत्पादनमा जोड्ने र आर्थिक लाभ गराउने हाम्रो अभियान हो ।”

व्यावसायिक रुपमा ठूला फार्म सञ्चालन गरेका कृषकहरुले स्थानीय तहको कार्यालयमै पुगेर कृषिसम्वन्धी विभिन्न सेवा लिइरहेका तर निर्वाहमुखी कृषि पेसा अँगालेका निम्न वर्ग र मध्यम वर्गका कृषकहरु सरकारी निकायसम्म पुग्न नसकेको पालिकाको निस्कर्ष छ । जसका कारण उनीहरु विभिन्न लाभ र अनुदानबाट वन्चित हुँदैआएको प्रमुख भट्टराईले बताउनुभयो । 

आफ्नो पालिका भित्र रहेका निर्वाहमुखी कृषि पेसामा आबद्ध कृषक कृषिसम्वन्धी कुनै पनि सेवासुविधा पाउनबाट नछुटुन् भनेर पालिका कृषि प्राविधिकसहित कृषकका घरमै पुगेको र उनीहरुलाई सहयोग तथा सेवाप्रवाह गरिरहेको जनाएको छ । 

अभियान अन्तर्गत गाउँटोलमा नै पुगेर कृषकका गुनासो सुन्ने, उन्नत जातका बिउविजन दिने, कृषि क्षेत्रमा देखिने समस्या र समाधान समेटिएको हाते पुस्तक वितरण गर्ने, परामर्श दिनेलगायतका कार्यक्रम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो । 

घरगाउँमा नै प्राविधिकलाई भेटाउन पाएपछि दूरदराजका कृषकहरु पनि खुशी भएका छन् । गल्याङ ११ लवरकोटका कृषक चण्डी ढकालले गाउँमा नै कृषि खेती गर्ने तरिकाबारे जान्न पाउँदा उत्साहित भएको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीलाई गाउँमा नै यसरी सिकाउने प्राविधिकको अभाव थियो ।” 

पालिकाभित्रका पाँच हजारभन्दा धेरै कृषकका घरपरिवारलाई ‘कृषकसँग कृषि प्राविधिक’ कार्यक्रमबाट लाभ लिने अवस्थामा पुगाउने प्रमुुख भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “गुुजारा चलाइरहेका कृषकहरु नछुट्नेगरी आफूहरु कृषकको घरदैलोमा पुगेका छौं ।” 

नागरिकलाई कृषि पेसामा आकर्षित गर्ने, कृषकका गुनासाका आधारमा समस्या समाधान गर्ने योजना अनुसार कार्यक्रम चलाइएको उहाँले बताउनुभयो । 

गल्याङ नगरपालिकाका पशुु शाखा प्रमुुख सुशील अर्यालले पशुुपालक कृषकले पशुमा लाग्ने रोग, प्रजननसम्वन्धी समस्या र समाधान, पशुखोप, घाँस, कृतिम गर्भधारणका फाइदा र बेफाइदाका विषयमा जिज्ञासा राखेको बताउनुुभयो । उहाँले कृषकका पशुुसम्वन्धी जिज्ञासा र समाधान, बालीका सम्भाव्य क्षेत्र, बाली उपचार, खेती गने प्रविधि, बालीमा लाग्ने रोग, किरा, र विषादीसम्वन्धी जानकारी समेटिएको हातेपुुस्तक कृषकलाई वितरण गरिएको बताउनुभयो ।