प्रकृतिसँग आदिमकालदेखि सन्निकट रहेर नै मानिसले आफ्नो अस्तित्वलाई सुरक्षित राख्दै आउन सकेको हो । मानिसको जैविक विकास नै प्राकृतिक नियमानुसार हुँदै आएको भन्ने वैज्ञानिक मान्यता छ । प्रकृतिसँग सहजीवनयापन गर्दै मनुष्यले आफ्नो भोक, तिर्खा मेटाउन सिक्यो । जाडो, गर्मी आदि अनेकाँै सहनीय, असहनीय परिस्थिति र प्रकोपहरूसँग जुध्दै, समय र प्रकृतिसँग तादात्म्य र अनुकूलन पनि हुँदै आफ्नो चेतनशील अस्तित्वका लाखौँ वर्षको यात्रा मनुष्य जातिले पूरा गरिसकेको छ । यो अस्तित्व यात्रा निरन्तर चलिरहेकै छ ।
मानिसले आफ्नो सांस्कृतिक जीवन पनि प्रकृतिसँगै उठबस गर्दागर्दै सिक्यो, सिक्दै आयो । घामले उसलाई उज्यालो दियो । रात्रिको अँध्यारोमा जाडो र अन्य कारणबाट असुरक्षित महसुस गरिरहेको आदिमानवले पर क्षितिजमा वा डाँडामा सूर्योदय देखेर गद्गद् भयो । सर्वत्र पोखिएको उज्यालोमा आफूलाई सुरक्षित ठान्यो । जिउ ततायो । घामको महत्व अरू बुझ्दै आयो । घाम जीवनकै आशाको केन्द्र रहेछ भन्ने मर्म बुझेपछि त्यही प्रकाशपुञ्जलाई पूजा गर्न पनि थाल्यो । त्यस्तै उसले घामको अस्तपछि बिस्तारै क्षितिजमा उदाएको जूनको उज्यालोबाट पनि रात्रिकालीन कठिन अवस्थामा सुरक्षित रहेको महसुस ग¥यो । उसलाई जुनेली रातमा हिँडेर टाढाबाट घर आइपुग्न आकाशमा उदाइरहेको जूनबाट सहयोग मिल्यो । जून रात्रिकालका लागि भयबाट मुक्तिको सहारा बन्यो, त्यसकै पूजा गर्न थाल्यो । प्रकृतिका अन्य कैयौँ कुरा आदिमानवको जीवनका लागि वरदान भए । तिनको अन्तहीन उपलब्धता र अनवरत प्राप्तिका लागि कामना गर्दागर्दै त्यसले संस्कृतिकै रूप लियो । अर्वाचीन मनुष्यको त्यही चेतनालाई वर्तमान मानिसले पनि पछ्याउँदै आएको पाइन्छ । मूलतः सनातन संस्कृतिको मूल जरो प्रकृति र मानिसको सहजीवनसँगै विकसित हुँदै आएको मान्न सकिन्छ । यहाँ सनातन संस्कृतिमा विश्वास राख्ने नेपाली जनमानस र जून अर्थात् चन्द्रमाबिचको सांस्कृतिक सम्बन्ध कस्तो रहेको छ भन्ने सन्दर्भमा केही चर्चा गरिन्छ ।
नेपालीहरूको परम्परागत पात्रो अनुसार महिनामा दुई पक्ष हुन्छन्, कृष्णपक्ष र शुक्लपक्ष । ती पक्षहरू प्रत्येक परेवा तिथिदेखि पूर्णिमा वा औँसीसम्म १५/१५ दिनका १५ वटा तिथि हुन्छन् । औँसीबाट परेवा, द्वितीया तिथिसँगै आकाशमा चन्द्रमाको आकार बढ्दै जान्छ र पूर्णिमाका दिनमा पूर्णचन्द्र देखिन्छ । परेवाबाट पूर्णिमासम्मको १५ दिनलाई शुक्लपक्ष भनिन्छ । यस्तै, पूर्णिमाको भोलिपल्टबाट सुरु हुने परेवादेखि चन्द्रमाको आकार क्रमशः पुनः घट्दै गएर औँसीसम्मका १५ दिनलाई कृष्णपक्ष भनिन्छ । औँसीको दिनमा निष्पट्ट अँध्यारो हुन्छ । फेरि परेवा तिथि आरम्भ भएसँगै चन्द्रमा हुर्कन थाल्छ । यसरी तिथिको परम्परा चन्द्रोदयको स्थितिको आधारमा थालनी भएको देखिन्छ ।
विक्रमीय संवत्को गणनामा तिथि, बार, नक्षत्रको सर्वाधिक महत्व छ । त्यसमा चन्द्रमालाई एक असल, फलदायक ग्रह मानिन्छ । कसैको पनि जन्मकुण्डलीमा चन्द्रको स्थान उँचो छ भने उसले प्रसिद्धि र सफलता प्राप्त गर्ने छ भन्ने विश्वास गरिन्छ ।
बडादसैँका अवसरमा आउने को–जाग्रत पूर्णिमाको विशेष महत्व छ । दसैँको टीका को–जाग्रत पूर्णिमाको तिथि रहेसम्म लगाउन सकिने ज्योतिषहरू बताउँछन् ।
फागुपूर्णिमाको सांस्कृतिक महत्व नेपाल तथा भारतमा उत्तिकै महत्वपूर्ण छ । यसलाई होली पूर्णिमा पनि भनिन्छ । फागुपूर्णिमा आफैँमा रङ्गीन संस्कृति र पर्वको दिन हो । यस दिन परस्परमा रङ, अबिरको टीका लाएर, छर्केर शुभकामना आदानप्रदान गरी घुमघामका साथ मनाइन्छ । फागुपूर्णिमाका दिनलाई आपसी सद्भाव बढाउने दिनका रूपमा लिइन्छ । हिन्दु धर्मावलम्बी मात्र नभई अन्य मतावलम्बी पनि फागु मनाउँछन्, होली खेलेर रमाइलो गर्छन् । नेपालमा यो पर्व साझा पर्वको रूपमा मनाउन थालिएको छ । पूर्ण चन्द्रोदयको दिन, फागु पर्व मनाइने परम्पराको पौराणिक महत्वपूर्ण पनि छ ।
महामानव गौतम बुद्धको जन्म, महाभिनिष्व्रmमण र महाप्रस्थान तीन वटै घटना पूर्ण चन्द्रोदय अर्थात् पूर्णिमाकै दिन भएका थिए । बुद्ध जयन्तीको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । बुद्ध पूर्णिमा विश्वभरि नै मनाइन्छ । चण्डी पूर्णिमाका अवसरमा उभौली पर्व पनि मनाइन्छ । यस्तै, धान्य पूर्णिमा अर्को चाड हो, यसबेला उँधौली पर्व मनाइन्छ । यी पर्वहरू कृषि जीवनसँग सम्बन्धित छन् । जनैपूर्णिमाका दिन तागाधारीहरू जनै लगाउँछन् । स्वस्थानी व्रतकथाको प्रारम्भ पौष शुक्ल पूर्णिमा तिथिमा सुरु भई माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । गुरुहरूको सम्मान, श्रद्धा गर्ने दिन गुरु पूर्णिमा हो । वर्षका १२ वटै पूर्णिमामा कुनै न कुनै पर्व पर्छ । पूर्णिमा चन्द्रमाको पूर्ण स्वरूप हो । पूर्णिमा मानव जीवनकै लागि अँध्यारोबाट मुक्ति पाउने दिवसको सङ्केत पनि हो ।
नेपाली साहित्यमा चन्द्रमा या जूनको प्रतीकात्मक वा विम्बात्मक प्रयोग निकै हुँदै आएको पाइन्छ । सांस्कृतिक चेतनाबिना लेखिएको कविता निरस हुन्छ । लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे र अन्य धेरै जना स्रष्टाका कवितामा गहिरो सांस्कृतिक चेतना पाइन्छ । त्यसैले ती कविताहरू उच्चकोटीका मानिन्छन् । चन्द्रमा स्रष्टाहरूका सिर्जन कर्मका लागि सांस्कृतिक विम्ब हो । धेरै गीतकारले प्रेमाभिव्यक्तिको प्रतीक चन्द्रमालाई बनाएर गीत सिर्जना गरेका छन् । चन्द्रमाको प्रतीक वा उपमाको प्रयोग संसारका प्रायः सबै भाषाका साहित्यिक स्रष्टाहरूले गर्दै आएका छन् ।
देवकोटा मुनामदन खण्डकाव्यमा मुनाको सुन्दरतालाई चन्द्रमासँग तुलना गर्दै लेख्छन्;
“चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौशी र आकाश
स्वर्गको अटाली हाँस्दछिन् यौटी, यौटी छन् उदास” (मुनामदन)
आकाशकी एउटी चन्द्रमाले घरको कौशीकी चन्द्रमालाई हेरेर हाँस्दछिन् भने कौशीमा टोलाइरहेकी चन्द्रमा (मुना) आकाशकी चन्द्रमा देखेर उदास छिन्, क्या सुन्दर उपमा !
देवकोटाले चन्द्रमालाई छुने उद्देश्य राखेर निरन्तर कर्मशील हुन आह्वान गरेका छन् । अटल आत्मविश्वासका साथ कर्म गरिरह्यो भने कुनै पनि महान् लक्ष्य प्राप्त गर्न असम्भव छैन । उद्देश्यमा अडिग कर्मशीलताले नै चन्द्रमालाई छुन सक्छ भनेका छन् देवकोटाले;
“के हो ठुलो जगत्मा ? पसिना विवेक
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक”
देवकोटा मात्र नभई अरू धेरै जना कविले चन्द्रमालाई उपमा बनाएर सौन्दर्यको वर्णन गरेका पाइन्छन् ।
“क्वै भन्छन् जून लाग्यो कि
लेखिन्छन् कविता भनी
मै भन्छु जून लाग्यो कि
देखिन्छन् कविता भनी” (माधवप्रसाद घिमिरे)
जूनलाई हेरेर त्यसको सौन्दर्यमा डुब्दै कविता लेख्नेहरू कैयौँ हुन सक्छन् । जुनेली रातले प्रदान गर्ने आनन्दलाई वर्णन गर्न सकिन्न तर जुनेली रातमा कविता लेखिने मात्र होइन, जूनको चाँदनीमा द्रष्टा वा कविले आफ्नो वरिपरि कविता नाचिरहेका, फुलिरहेका, मुस्कुराइरहेका देख्न सक्छ । कविले जुनेली रातको सौन्दर्यभित्र डुबेर कविता टिप्दछ । जुनेली रात स्वयम् कवितामय, सौन्दर्यमय अनुभूतिको गङ्गोत्री हो । क्या सुन्दर अनुभूति छ घिमिरेको !
नेपालको राष्ट्रिय झन्डामा चन्द्र र सूर्यका चिह्नहरू सजिएका छन् । सूर्यलाई उष्णता, ताप–शक्ति, जीवन–शक्ति, सृष्टि–स्रोतका रूपमा अथ्र्याइएको बुझिन्छ भने चन्द्रमालाई शीतलता, शान्ति, अन्धकारनाशकको प्रतीक मानिन्छ । राष्ट्रिय झन्डाको माथिल्लो त्रिभूजाकार सतहमा अष्टकोणयुक्त खुर्पे चन्द्रको चिह्न अङ्कित छ । सूर्य चन्द्राङ्कित झन्डा नेपाली राष्ट्रियताको प्रतीक पनि हो । नेपालको राष्ट्रिय झन्डालाई वैदिककालीन सांस्कृतिक चैतन्यको प्रतीक पनि मानिन्छ । सूर्य र चन्द्रका प्रतीकले ‘तमसोमा ज्योतिर्गमय...’ सांस्कृतिक चिन्तन र दर्शनलाई प्रतिनिधित्व गर्दछन् । कतिपय प्राचीन ऋषि, ज्ञानीहरूले चन्द्रमालाई मनुष्यको आध्यात्मिक चेत एवं जीवन सामथ्र्यलाई वृद्धि गराउने विम्बको रूपमा प्रयोग गरेका छन्; “एकश्चन्द्रतमो हन्ति न च तारा गणोपि च” अर्थात् “एउटै चन्द्रले अन्धकार नाश गर्न सक्छ तर ताराहरूको समूहले पनि सक्दैन ।” एउटै उत्तम गुणयुक्त विद्वान् मानिसले चन्द्रमाले प्रकाश फैलाएर अन्धकार नाश गरे जसरी आफ्नो कुल, समाज र देशलाई नै उज्यालो पार्न सक्छ भन्ने सन्देश वा उपदेशमूलक सुक्तहरू संस्कृत साहित्यमा पढ्न पाइन्छन् ।
चन्द्रमालाई देवताका रूपमा पुज्ने चलन नेपालमा मात्र नभई अन्य मुलुकहरू, विशेष गरी भारत र अन्य हिन्दु धर्मावलम्बी अधिक भएका मुलुकहरूमा पनि रहेको पाइन्छ । हिन्दु धर्मबाहेकको धर्म संस्कृति भएका देशमा पनि चन्द्रमालाई पूजा गर्ने मानिसहरू पाइन्छन् ।
प्राकृतिक जगत्को इतिहास पृथ्वीको उत्पत्तिको अनन्त अतीतसँग जोडिएर आएको भन्ने वैज्ञानिक मान्यता छ । पृथ्वीबाट उछिट्टिएर बनेको उपग्रह मानिन्छ चन्द्रमालाई । पृथ्वीबाट हेर्दा चहकिलो देखिने चन्द्रमाको आफ्नै प्रकाश नभएर पृथ्वीमा ठोक्किएर चन्द्रमामा पुगेको सूर्यको प्रकाशको आवर्तन हो भन्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चन्द्रमामा मानिसले दशकाँै पहिल्यै पाइला टेकिसकेको छ । त्यहाँ मानवनिर्मित धेरै वटा उपग्रहको अवतरण भइसकेको छ । अनन्तदेखि नै मानिसले त्यस सौन्दर्यमय गोलाकार सौर्यमण्डलीय उपग्रहको पूजा वा प्रार्थना गर्दै आएको छ । त्यसको भौतिक उपस्थितिले मानिसको बौद्धिकताभन्दा भावनात्मक चेतनामा बढी प्रभाव पार्दै आएको अनुभव गर्न सकिन्छ । कुनै पनि ग्रह वा उपग्रह पृथ्वीबाट जति नजिकमा छ त्यसको प्रभाव मानव शरीरमा बढी पर्ने कुरा नक्षत्रविद् वा खगोलविद्हरूले बताउँदै आएका पनि छन् । त्यस दृष्टिले मानिसले आफ्नो मानसिक शान्तिका लागि चन्द्रमाको पूजा गर्नुलाई अन्यथा मान्न पनि सकिन्न । नेपालीहरूले चन्द्रमालाई त्यसै विश्वासका आधारमा पूजा गर्दछन् ।
चन्द्रमाको प्रकाशले आनन्द प्रदान गर्छ । सङ्लो तलाउमा पूर्ण चन्द्रमाको प्रतिविम्ब टल्पल टल्पलाएको देख्दा कसको आँखा र मनमा प्रसन्नता उत्पन्न हुँदैन र ! यस्तै बगिरहेको नदीसँगै चन्द्रमाका अनगिन्ती प्रतिविम्बहरू बगिरहेका दृश्यले कसलाई लोभ्याउँदैन र । जूनको उज्यालो ओडेर मुस्कुराइरहेको फूलबारीमा बसेर आनन्दविभोर भई आफैँलाई बिर्सन कसलाई मन लाग्दैन र ! जुनेली रातमा घरको आँगन वा कौशीमा बसेर कति मानिस आफ्नो थकान वा तनाव मेटाइरहेका पनि देखिन्छन् । जूनको उज्यालो छङछङाइरहे झैँ देखिन्छन् हिमाली झरनाहरू जुनेली रातमा, कसलाई हेरिरहूँ झैँ लाग्दैन र ! आनन्द दृश्यबाट नभई अनुभूतिले प्राप्त गर्ने हो । पूर्णिमाको चन्द्रलाई देखेर नरमाउने मानिस पाउन सकिँदैन । मानिसलाई अनुभूतिबाट आनन्दित हुने चेतना प्रकृतिले नै सिकाएको हो भन्न सकिन्छ । प्राकृतिक रूपले चन्द्रमा एक सौर्यमण्डलीय उपग्रह मानिए पनि सांस्कृतिक तवरले यो एक चैतन्य ऊर्जादायी ज्योतिपुञ्ज हो । चन्द्रमा मानव जीवन चव्रmको एक अविच्छेद्य नियामक रहेको कुरा ज्योतिष एवं खगोलविद्ले बताउँदै आएका छन् । त्यसैले सनातन सांस्कृतिक जगत्मा चन्द्रमाको पूजा गरिनु अर्थपूर्ण परम्पराका रूपमा रहँदै आएको अनुभव हुन्छ ।