रेखीराम राना
तानसेन, असार २ गते । पाल्पाको पूर्वखोला ५, स्यापट पहाडनजिकै पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुकी ४ बजेतिर तानसेनदेखि आर्यभाङ्ज्याङ्रा रामपुर सडक हुँदै रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको पिकअप जिप सडकदेखि तीनसय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का अन्दाजी ४० देखि ४५ वर्षका एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै, बुटवल उपमहानगरपालिका ११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ । उहाँको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उक्त जिपले अण्डा लिएर रामपुरतर्फ जाँदैगरेको थियो भन्ने प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।