गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टम (प्रणाली) ले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गराउनुपर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८२–८३ को प्रस्तावित बजेटमाथिको सैद्धान्तिक छलफलमा आजको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै उहाँले त्यस्तो बताउनुभयो । “हामी बजारमा गएर केही वस्तु किन्यौँ भने तपाईलाई बिल चाहिन्छ? भनेर सोध्ने गरिन्छ । त्यस्तो किन गरिन्छ त ?” सांसद चौधरीले प्रश्न गर्नुभयो, “हाम्रो अन्तशुल्क के हुन् ? अन्य अतिरिक्त शुल्कहरू के हुन् भन्ने कुराहरू हाम्रो सिस्टमले नै फिलिङ गराउनुपर्छ ।”
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको बजेटलाई समर्थन गर्दै उहाँले केही समयदेखि कमजोर रहेको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रयासपछि सुधार हुँदैआएको बताउनुभयो । सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासहरू सार्थक बन्दै गइरहेको परिप्रेक्ष्यमा आगामी आर्थिक वर्षको बजेटले पनि मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउँदै लैजानेमा हामी विश्वस्त छौँ, पूर्वमन्त्री चौधरीले भन्नु्भयो, “देशको समग्र पक्षलाई मध्यनजर गर्दै ल्याइएको बजेटका समग्र पक्षलाई हेर्दा सन्तुलित, यथार्थपरक, स्रोत सुनिश्चितताको सम्भावना, प्रभावकारी सदुपयोगितालाई गर्न सक्ने, नतिजा दिन सक्नेगरी आयोजना तथा खर्चहरूलाई प्राथमिकीकरणको आधार तय गरी अर्थपूर्ण सकारात्मक प्रतिफल आउन सक्नेगरी ल्याइएको छ ।”
बजेटले जेनेरेसन जेड अर्थात् जेनजी पुस्तालाई इन्कुवेशन डेभलपमेन्ट सेन्टर सञ्चालन गर्नेदेखि देशभित्र यी युवालाई रेट्रेन गर्न अवसरहरू सिर्जना गर्न सक्ने, युवालक्षित प्रविधि र स्टार्टअप व्यवसायलाई प्रवर्द्धन लगानी प्रवर्द्धनका कुराहरू, ३ प्रतिशत ब्याजदरमा २ देखि २० लाखसम्म कर्जा अनुदान, महिला साना माध्यम एसएमइएसलाई ट्याक्स छुटको व्यवस्था गरिएको भन्दै बजेटका राम्रा कुराहरूलाई समर्थन गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो ।
बजेटका राम्रा कुराहरूलाई समर्थन गर्न सांसद चौधरीले आग्रह गर्दै बजेटको समानुपातिक वितरण प्रणालीमा केही कमी रहेको बताउनुभयो । लगानी प्रवर्द्धनका लागि उत्पादनलाई वृद्धि गर्दै निर्यात प्रवर्द्धन गर्ने, कर सूचना प्रणालीमा सुधार, दोहोरो करमा व्यवस्थापन गर्ने, निजी क्षेत्रलाई प्रवर्द्धन गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने कुरा सकारात्मक भएको बताउनुभयो ।
सरकारले मुलुकलाई सबल, समृद्ध बनाउने सवालमा, युवाहरूलाई स्वदेशमै केही गरौँ भन्ने सवालमा महत्त्वपूर्ण काम गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटले समग्र मुलुकको अर्थतन्त्रलाई सुधार्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पूरा गर्न सफल हुने सांसद चौधरीले विश्वास व्यक्त गर्नुभयो ।