काठमाडौँ, असार २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान पुग्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्थाको मर्म र भावनालाई आत्मसात् गरी निजामती सेवामा समावेशी समूहमार्फत उम्मेदवार सिफारिस हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
लोक सेवा आयोगको हीरक महोत्सवका अवसरमा काठमाडौँमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी रूपले कर्मचारी नियुक्ति प्रक्रिया सुरु भएयता विभिन्न समावेशी समूहमार्फत उम्मेदवार सिफारिस हुनु सकारात्मक पक्ष रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “यसबाट राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व भई राष्ट्रिय एकतालाई मजबुत बनाउने र सङ्घीयता अनुरूप समावेशी समूहतर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरी आयोगले कार्यसम्पादन गर्ने विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले आयोगले वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा जनताको मुख्य चाहना भनेको तीव्र आर्थिक विकासको बाटोमा अग्रसर हुनु रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसको पहिलो खुड्किलो सुशासन रहेकाले त्यसप्रति कर्मचारीतन्त्र सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब सहज, सरल र प्रभावकारी तवरले सेवा प्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सक्नु पर्छ । नागरिक हकका निम्ति सहज पहुँच नदिएसम्म लोकतन्त्र दह्रो हुन सक्दैन ।” उहाँले स्थायी सरकारका रूपमा लिइएको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको उपयोग गरी सुशासनको भावना र मर्म अनुरूप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
लोक सेवामाथि विश्वास प्रबल : प्रधानमन्त्री
सो अवसरमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले थुप्रै निकायमाथि जनविश्वास कमी भएको अवस्थामा लोक सेवा आयोगमाथिको जनविश्वास प्रबल हुनु सकारात्मक भएको बताउनुभयो ।
उहाँले शासन व्यवस्था प्रभावकारी रूपमा सञ्चालनका लागि सरकार र प्रशासनको भूमिका महट्टवपूर्ण रहेको बताउनुभयो । “सरकारको कार्य सफलता कर्मचारीतन्त्रको सक्षमतामा धेरै हदसम्म निर्भर हुन्छ । तसर्थ राज्य सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष, निपुण हुनुका अतिरिक्त नेपालको राष्ट्रिय हितको जगेर्ना र प्रवर्धन गर्ने हुनु आवश्यक छ,” प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नयाँ धारका विषयवस्तु समेटेर शैक्षिक योग्यता निर्धारण गर्न सुझाव दिनुभयो । उहाँले काम र परिवेश अनुसार समय सापेक्ष रूपमा कार्यसम्पादन गर्न उपयुक्त ज्ञान, सिप र क्षमता प्रदान गर्न सक्ने विषयवस्तु समेटिएका पाठ्यक्रम हुन आवश्यक रहेको तर्क गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लाखौँ सङ्ख्यामा बिदेसिने युवा शक्तिलाई देशमै निष्पक्ष रूपमा रहेर रोजगारीमा छनोट गर्ने संस्थाको रूपमा लोक सेवा आयोगको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाबमोजिम सरकारी निकायका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने जिम्मेवारी लोक सेवा आयोगको हो । आयोगले जति निष्पक्ष, स्वच्छ र वस्तुनिष्ठ भएर कर्मचारी छनोट गर्छ, कर्मचारी संयन्त्र त्यति नै सबल र प्रभावकारी हुन्छ ।”
प्रधानमन्त्री ओलीले आयोगको कार्यसम्पादनमा आवश्यक पर्ने साधन र स्रोत सम्पन्न तथा प्रविधिमैत्री बनाउने विषयमा सम्बन्धित सबै निकाय प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । लोक सेवा आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा औँल्याएका र सिफारिस गरेका सुझाव कार्यान्वयनमा सबै निकायले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।
शुभकामना मन्तव्यका क्रममा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लोक सेवा आयोगले निष्पक्षता र स्वच्छताको मानक तयार गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वले पनि पारदर्शिता, निष्पक्षता र स्वच्छताका लागि आयोगको कार्यसम्पादनबाट प्रेरित हुनु पर्छ ।”
सो अवसरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले हालसम्म गरेको सुधारको प्रयासबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “विगतका सफलताप्रति गौरवबोध गर्दै कमजोरीबाट सिक्ने एवं वर्तमान र भविष्यका आवश्यकताको पहिचान गर्दै आगामी कार्ययोजना निर्माण गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।” सो अवसरमा आयोगका सदस्य दिनेश सिलवालले धन्यवाद ज्ञापन र सचिव किरणराज शर्माले स्वागत मन्तव्य राख्नुभयो । हीरक महोत्सव मनाउने क्रममा आयोगले चार जना कर्मचारीलाई सम्मानित गरेको छ ।
लोक सेवा आयोग बुटवल कार्यालयका खरिदार चित्रकुमार सुवाल, केन्द्रीय कार्यालय, कमलपोखरीका शाखा अधिकृतहरू लक्ष्मीप्रसाद पराजुली र ऋषिकेश चौलागाई तथा कम्प्युटर अपरेटर प्रल्हाद सिलवाललाई आयोगले सम्मान गरेको हो । विसं २००८ असार १ गते स्थापना भएको आयोगले स्थापनाको ७५ औँ वर्ष पुगेको अवसरमा बर्सैभरि विभिन्न कार्यक्रम गरी हीरक महोत्सव मनाउने छ ।