• २३ असोज २०८२, बिहिबार

गोरखापत्रका दुःखद घटना

blog

सामान्य रूपमा हामीले चाहेको कुरा नपाउनु नै दुःख हो । दुःख अनुभूतिको विषय हो । अर्को अर्थमा सबै थोक सहज चलिरहेको अवस्थामा मन, आत्मा वा दैनिकीलाई नकारात्मक प्रभाव पार्ने कुनै अप्रिय घटनाको अनुभूति नै दुःख हो । हामीले चाहेको पूरा भए सुखको अनुभूति हुन्छ । चाहेको पूरा भएन भने दुःखको अनुभूति हुन्छ । अर्को शब्दमा भन्नुपर्दा दुःख भनेको अभाव हो । अभाव वस्तु वा व्यक्तिको हुन सक्छ । सबै थोक साधारण रूपमा चलिरहेको अवस्थामा कुनै वस्तु वा व्यक्ति हामीबाट टाढा भए दुःखको अनुभूति हुन्छ । अझै भन्नुपर्दा सन्निकट टाढिए वा हराए हामी दुःख अनुभव गर्छौं । 

अर्को अर्थमा दुःखलाई क्षतिसँग समेत जोड्न सकिन्छ । वस्तुको क्षति भएमा हामी दुःखको अनुभूति गर्छौं । दुःख व्यक्तिगत वा पारिवारिक हुन सक्छ । व्यक्तिगत रूपमा केही हानि वा क्षति भए निम्तिने अनुभूति दुःख हो । परिवारका कुनै सदस्य वा वस्तुमा क्षति वा हानि भए सबै सदस्यमाथि प्रभाव पर्छ । अर्थात् सिङ्गो परिवार नै दुःखी हुन्छ । दुःखको अनुभूति व्यक्तिमा मात्रै सीमित हुन्न । उसको आफ्नो परिधि हुन्छ । वस्तु अपनत्वसँग जोडिन्छ । वस्तु हराएमा वा कुनै हानिनोक्सानी भएमा वस्तुसँग जोडिएका वा निकटकालाई दुःख हुनु स्वाभाविक हो ।  

दुःखको चर्चा गरेपछि विषयवस्तुतर्फ केन्द्रित होऔँ । हरेक व्यक्ति सुख र दुःखको भोगाइबाट गुज्रेको हुन्छ । गोरखापत्र संस्थान नेपालको एक मात्र सबैभन्दा पुरानो जीवित अखबार हो । १२४ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको गोरखापत्रका लागि योगदान गर्ने हजारौँ छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिने लाखौँ होलान् । 

एउटा निश्चित समयभित्र गोरखापत्रका लागि योगदान गर्ने व्यक्ति संस्थानका त्यतिबेलाका परिवारका सदस्य हुन् । परिवारका कुनै सदस्यलाई गुमाए वा हानिनोक्सानी, क्षति भए सिङ्गो परिवारलाई दुःखको अनुभूति हुन्छ । कार्यरत रहँदारहँदै संस्थानका सदस्यलाई गुमाउनुको पीडा सँगै बसेर दैनिक काम गर्नेले राम्ररी अनुभूति गर्लान् । प्रत्यक्ष जोडिएकालाई कुनै हानिनोक्सानी भए गोरखापत्र परिवार नै दुःखी भएका थुप्रै घटना छन् । 

आगलागी भएर वा मानवीय अन्य कुनै कारणले भएको क्षतिले दुःख भोगाइ हुन्छ । सधैँ भौतिक रूपमा उपस्थित भएर सँगै काम गरेका सहकर्मी गुमाउँदा दुःखको अनुभूति हुनु नौलो होइन । संस्थानका प्रधान सम्पादक पदमा बसेर काम गर्दैगर्दा सानो गल्ती र तत्कालीन शासकको प्रतिकूल हुने गरी समाचार प्रकाशन गरेकै कारणले निलम्बनमा पर्ने, जागिरबाट अवकाश दिइने थुप्रै घटना छन् । त्यस्ता घटनालाई गोरखापत्रका दुःखद दिनका रूपमा चित्रण त गर्न सकिन्न यद्यपि यसप्रकारको अभ्यासले गोरखापत्रको प्रकाशनमा प्रभाव पारेको छ । फलस्वरूप सत्ताकै भक्ति र गीत गाउन बाध्य बनाएको आमपाठकले गुनासो गर्दै आएका छन् । शासक फेरिए, प्रणाली फेरिए, पात्र फेरिए तर शासन गर्नेको प्रवृत्ति अझै विद्यमान छ । जतिसुकै प्रेस स्वतन्त्रताको हवाला दिए पनि सत्ताको यसप्रकारको प्रवृत्तिको सामना गोरखापत्रले अझै गर्नु परेको छ ।

गोरखापत्र संस्थानमा यस्ता थुप्रै घटना छन् । १२४ वर्षको इतिहासमा सबै दुःखद घटना सम्झिनु र त्यसलाई चित्रण गर्न लामो र धैर्यपूर्ण अनुसन्धानको खाँचो हुन्छ । विगतमा यसप्रकारका अनुसन्धानपूर्ण रचना आएका हुन सक्छन् । यस खण्डमा भने पछिल्ला केही दशकमा गोरखापत्रले अनुभूति गरेको दुःखद क्षणलाई सम्झिने प्रयास गरिएको छ । जस अन्तर्गत कार्यरत रहेकै अवस्थामा दिवङ्गत भएका गोरखापत्रका केही पत्रकार तथा कर्मचारीको विवरण समेटिएका छन् । 

पछिल्ला केही दशकका दुःखद घटनाको सुरुवात गर्नुभन्दा अघि गोरखापत्र प्रकाशनको सुरुवाती वर्षका घटना विवरण उल्लेख गरेर अगाडि बढ्ने प्रयास गरिएको छ । दुःखका दिनलाई कार्यस्थलको भोगाइ र सहकर्मी बिछोडको अवस्था गरेर दुई पाटोमा चित्रण गर्न खोजिएको छ । 

जयपृथ्वीबहादुर सिंहको सङ्घर्ष

तत्कालीन राजा पृथ्वीवीरविक्रम शाह र प्रधानमन्त्री देवशमशेरको पालामा १९५८ वैशाख २४ गते गोरखापत्रको पहिलो अङ्क प्रकाशित हुँदा पण्डित नरदेव पाँडे गोरखापत्रको पहिलो व्यवस्थापक रहनुभयो । उहाँ दुई वर्षसम्म कार्यरत रहनुभयो । तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले विसं १९६० भदौ २२ देखि १९७३ सम्म गोरखापत्रका प्रधान सम्पादक एवं व्यवस्थापक भई सेवा गर्नुभयो । विसं १९६५ मा आफ्ना ससुरा तत्कालीन श्री ३ चन्द्रशमशेरसँग जयपृथ्वीबहादुर सिंहले पहिलो पटक युरोपेली राष्ट्रको भ्रमण गर्नुभयो । 

त्यहाँका विकास र प्रजातान्त्रिक परिपाटीबाट प्रभावित हुनुभएका सिंहले गोरखापत्रमा ‘प्रेस स्वतन्त्रता’ का लागि सङ्घर्ष गर्नु परेको प्रसङ्ग पढ्न पाइन्छ । उहाँलाई राणा शासनको विरोधमा नलाग्न अनेक प्रलोभन र धम्की दिइयो तर व्यवहारमा परिवर्तन नआएपछि गोरखापत्रको सम्पादक पदबाट मात्रै होइन, देशबाटै निष्कासन गर्नुपर्ने परिस्थिति उत्पन्न भयो । उक्त कदम गोरखापत्रका लागि दुःखकै दिन थियो । अर्थात् गोरखापत्रले स्थापनाकालीन सम्पादकदेखि नै दुःखका दिन झेलेको छ । 

युगकवि सिद्धिचरण श्रेष्ठ गोरखापत्रमा कार्यरत रहँदा उहाँले राख्नुभएको समाचारको शीर्षक राणा शासकलाई मन नपर्दा शीर्षक नै नदिने चलनसमेत चलाइयो । यी र यस्तै हर्कतका कारण श्रेष्ठसहित सम्पादक प्रेमराज शर्मा र पण्डित केशव हलुवाई पक्राउ परेको इतिहास छ । 

विसं २०१८ मा छापिएको एउटा सम्पादकीयकै कारणले गोपालप्रसाद भट्टराई प्रधान सम्पादकबाट हट्नु परेको थियो । समाचारकै कारणले कर्मचारीलाई निलम्बन गर्ने, बर्खास्त गर्ने गतिविधि पञ्चायती शासनकालमा लामै समयसम्म चल्यो । 

लेखन त्रुटिले सम्पादक निलम्बित

२०२६ सालमा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा भारतका राष्ट्रपति डा. जाकिर हुसेन नेपाल भ्रमणमा आउनुभयो । उहाँको भ्रमणसम्बन्धी समाचार राससले प्रकाशन गर्‍यो । राष्ट्रपति हुसेनको प्रतिक्रिया राससले ‘मैले सपनामा देखेको दव आँखाको सामुन्ने पाएँ’ लेख्यो । सम्पादन गर्ने क्रममा सुरेन्द्रराज द्विवेदीले ‘मैले सपनामा देखेको दुवै आँखाको सामुन्ने पाएँ’ लेख्नुभयो र सोही अनुसार गोरखापत्रमा प्रकाशित भयो । द्विवेदीका अनुसार राससको बुलेटिनमा अस्पष्ट रहेकाले स्पष्ट बनाउन अनुमानकै आधारमा दुवै भनेको होला भनेर सोहीबमोजिम सम्पादन गरियो । 

राष्ट्रपति हुसेनको एउटा आँखा रहेन छ । प्रकाशित समाचारले उहाँप्रति व्यङ्ग्य गरेको ठहरियो । राष्ट्रपति हुसेनले भने ‘देवी आँखाको सामुन्ने पाएँ’ भन्नुभएको रहेछ । 

‘दी राइजिङ नेपाल’ ले पनि सोही अङ्कमा ठुलो गल्ती गर्‍यो । ‘दी राइजिङ नेपाल’ ले सहिदगेटमा माल्यार्पणपछि राष्ट्रपति हुसेन अर्को कार्यक्रममा भाग लिएको लेख्न ‘लेटर प्रेसिडेन्ट’ को सट्टामा ‘लेट प्रेसिडेन्ट’ लेख्यो ।

तत्कालीन सवारीमन्त्री शैलेन्द्रकुमार उपाध्यायले डा. हुसेनलाई भेटेर समाचार लेख्ने दुवैलाई कारबाही गरिएको जानकारी गराउनुभयो । डा. हुसेनले भने सामान्य त्रुटि रहेको भन्दै कारबाही नगर्न आग्रह गरेपछि १८ घण्टापछि दुवैको निलम्बन फुकुवा भयो । 

अल्पायुमै अस्ताए अर्याल

नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटका प्रतिभाको उपमा पाएका भैरव अर्यालको गोरखापत्रमा फिचर सम्पादकका रूपमा कार्यरत रहँदै निधन भयो । ‘दी राइजिङ नेपाल’ मा उल्लिखित समाचारका अनुसार उहाँको २०३३ असोज २१ गते गोकर्णनजिक बागमती नदीमा शव फेला पर्‍यो । विसं १९९४ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिनुभएका अर्यालको अल्पायुमै निधन भयो । उहाँको निधन हुँदा जेठी छोरी १३ वर्ष र कान्छो छोरा करिब दुई वर्षका थिए । 

नेपालीमा स्नातकोत्तर गरेका अर्यालले जर्मनीको बर्लिनबाट पत्रकारितासम्बन्धी प्रशिक्षण लिनुभएको थियो । विसं २०१४ मा पत्रकारिता सुरुवात गर्नुअघि उहाँ शिक्षण पेसा आबद्ध हुनुुहुन्थ्यो । अर्यालले विसं २०१४ मा ‘हालखबर’ बाट पत्रकारिता सुरुवात गर्नुभयो । उहाँ २०१८ सालमा गोरखापत्रमा प्रवेश गर्नुभयो । 

‘मधुपर्क’ को स्थापनाकालदेखि नै सक्रिय आबद्ध रहेका अर्याल गोरखापत्र दैनिकमा समाचारसँगै फिचर सम्पादन कार्यमा संलग्न हुनुहुन्थ्यो । कविताका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका अर्यालले निधन हुनुअघि ‘नेपाली काव्यमा प्रकृति’ साहित्य आलोचना कोर्नुभएको थियो । उहाँले ‘काउकुति’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दश औतार’ आदि हास्यव्यङ्ग्य निबन्धका पुस्तक लेख्नुभएको छ । 

गोरखापत्रमा आगजनी 

विसं २०३६ जेठ ९ गते गोरखापत्र संस्थानमा आगजनी भयो । पञ्चायतविरुद्धको विद्यार्थी आन्दोलनका क्रममा प्रहरीले दमन गर्‍यो । प्रहरी दमनपछि सडकमा निस्किएको असन्तुष्ट विद्यार्थीको भिडले गोरखापत्र संस्थानमा आगो लगाइदिएको थियो । 

तत्कालीन राजा वीरेन्द्र शाहले आगजनी भएको तेस्रो दिन जेठ ११ गते धर्मपथस्थित गोरखापत्र संस्थान पुगेर निरीक्षण गर्नुभयो । गोरखापत्रमा गरिएको आगजनीको २०३६ जेठ २७ गते मात्रै नेपाल पत्रकार सङ्घले निन्दा गर्दै विज्ञप्ति जारी गर्‍यो । आगजनीले गोरखापत्रका प्रकाशनसहित केही उपकरण र अन्य सामग्रीमा क्षति पुगेको थियो ।   

कुर्सीमा अस्ताए गौतम

गोरखापत्रका दुःखका दिनमा उल्लेख गर्नैपर्ने एउटा घटना हो, प्रधान सम्पादक रामचन्द्र गौतमको निधन । २०५५ माघ २१ गते नियमित झैँ गौतम पत्रिकाको काममा व्यस्त हुनुहुन्थ्यो । उहाँ अचानक कुर्सीमै ढल्न पुग्नुभयो । नजिकैको वीर अस्पतालमा लगियो । चिकित्सकले उहाँको निधन भइसकेको जनाउ दिए । यसरी कार्यालय समयमा आफ्नै कुर्सीमा काम गरिरहेको अवस्थामा उहाँको निधन भयो । २०३० सालमा गोरखापत्रको उपसम्पादक पदमा नियुक्त भई सेवा सुरु गर्नुभएका गौतमले २०५५ असोजमा कायममुकायम प्रधान सम्पादकको जिम्मेवारी समाल्नुभयो । जिम्मेवारी समालेको चौथो महिनामा ५० वर्षको उमेरमा उहाँको निधन भयो । 

तेह्रथुमका गौतमको स्मृतिमा उहाँकी श्रीमती इन्दु गौतमले ‘रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कार’ स्थापना गर्नुभएको छ । इन्दु गौतमले पाँच लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । नेपालको पत्रकारितामा विशिष्ट योगदान पुर्‍याउनेलाई सो पुरस्कार प्रदान गर्ने गरी नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानसँग सम्झौता भएपश्चात् सो कोष खडा गरिएको हो । 

संस्थानमा बम विस्फोट

२०५२ सालमा सुरु भएको माओवादी द्वन्द्वको समयमा बम विस्फोट र सुरक्षाकर्मी तथा माओवादीबिच भिडन्तका समाचार दिनैपिच्छे आउँथ्यो । कतै माओवादीमाथि आक्रमण गर्ने क्रममा राज्यद्वारा विस्फोट त कतै सुरक्षाकर्मी र राज्यका निकायलाई तर्साउन माओवादीद्वारा बम विस्फोट गराउनु सामान्य जस्तै भएको थियो । गोरखापत्र संस्थानले पनि कुनै बेला विस्फोटको अनुभूति गर्न पायो । 

विसं २०५६ वैशाख ५ गते राति अन्दाजी २ बजे संस्थानमा बम विस्फोट भयो । संस्थानको दोस्रो तलामा रहेको शौचालयमा विस्फोट गराइयो । गोरखापत्रमा तत्काल कार्यरत कर्मचारीका अनुसार मानवीय क्षति पुर्‍याउनेभन्दा तर्साउनलाई सो विस्फोट गराइएको थियो । विस्फोट गराइएको सामग्री सकेट बम रहेछ । 

सो विस्फोटबाट करिब दुई लाख रुपियाँ बराबरको क्षति भएको अनुमान छ । बिहान नेपाली सेनाको टोलीले विस्फोट स्थल निरीक्षण गर्‍यो । विस्फोटका बेला ड्युटीमा रहेका कर्मचारीसँग सोधपुछ गरियो । माओवादीले गराएको हुन सक्ने भन्दै त्यसपछि अनुसन्धान खासै बढेन । 

गोरखापत्र संस्थान धर्मपथमा विस्फोट भएको केही दिन नबित्दै गोरखापत्र संस्थानको प्रशाखा कार्यालय विराटनगरमा पनि बम विस्फोट भयो । २०५६ वैशाख ९ गते बिहान अन्दाजी ४:२० बजे विस्फोट हुँदा सामान्य क्षति भयो । गोरखापत्रमा कार्यरत सोमबहादुर घलेलाई प्रहरीले २०५८ सालमा पक्राउ गर्‍यो । माओवादी नेता रहेको भन्दै पक्राउ परेका घलेलाई सो आरोप पुष्टि हुन नसकेपछि मुक्त गरियो । 

भूकम्पमा दिवङ्गत हुने पत्रकार

“दुई दिनसम्म कार्यालयमा आएन । सम्पर्क पनि भएन । हामीले अप्रिय घटना भयो भनेर अनुमान गर्‍यौँ । सोही अनुमानका आधारमा प्रहरी र सेनालाई खोजबिन गर्न आग्रह गर्‍याैँ । भूकम्प गएको अर्को शनिबार वैशाख १९ गते मात्रै सेनाले सम्पर्क गरेपछि म र नारद गौतमजी महाबौद्धमा गएर शवको पहिचान गर्‍यौँ,” गोरखापत्र दैनिकका तत्कालीन नायब कार्यकारी सम्पादक सरोजराज अधिकारीले सुमन भोम्जनसँग सम्बन्धित घटना सम्झिँदै भन्नुभयो । 

गोरखापत्र दैनिकको खेलकुद समाचारदाताका रूपमा कार्यरत भोम्जन वीर अस्पतालछेउ महाबौद्धमा बहालमा बस्नुहुन्थ्यो । भूकम्प जाँदा बाहिर निस्किने क्रममा घर भग्नावशेषमा परिणत भयो । उहाँ गेटको ग्रिलमा थिचिन पुग्नुभएको रहेछ । बाहिर निस्किने मूलद्वारमा ताल्चा लागेकाले भूकम्प जाँदा भाग्ने क्रममा द्वारमै छटपटिएर उहाँको निधन भएको हुन सक्छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा परेर निधन हुने उहाँ नेपालका एक मात्र पत्रकार हुनुहुन्थ्यो । 

विसं २०४२ जेठ २ गते मकवानपुरमा जन्मिएका भोम्जन २०६८ सालमा गोरखापत्रमा समाचारदाताका रूपमा प्रवेश गर्नुभएको थियो । भूकम्प जानुभन्दा एक साताअघि उहाँको ‘बाइलाइन’ मा ‘आदर्श क्रिकेटर विनोद दास’ शीर्षकमा गोरखापत्र दैनिकको वैशाख ५ गतेको अङ्कमा समाचार छापिएको रहेछ । 

भूकम्पले सबै क्षेत्र र समाजका हरेक तह तप्काका व्यक्ति प्रभावित हुँदा गोरखापत्र परिवारलाई भोम्जनको निधनले अत्यन्तै नजिकबाट दुःखको अनुभूति गर्ने बनायो । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका तत्कालीन अध्यक्ष नारद गौतम नेतृत्वको कार्यसमितिले स्मारिका प्रकाशन गरेर भएको आम्दानीबाट शाखाले उहाँको नाममा ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गर्‍यो । गोरखापत्र स्थापना दिवसमा प्रदान गरिने उक्त पुरस्कारले भोम्जनलाई वर्षमा कम्तीमा एक पटक स्मरण गर्ने अवसर सिर्जना गरेको छ । 

खगेन्द्र कार्की

गोरखापत्र दैनिकको वितरण विभागमा कार्यरत खगेन्द्र कार्कीको कार्यरत रहेकै अवस्थामा २०७६ असोज २० गते निधन भयो । २०५३ सालमा गोरखापत्रमा प्रवेश गर्नुभएका कार्की मस्तिष्कको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको ४५ वर्षको उमेरमा उपचारका क्रममा निधन भयो । उहाँकी श्रीमती बिना उप्रेती हाल गोरखापत्र संस्थानको दर्ता तथा चलानी शाखामा कार्यरत हुनुहुन्छ । 

चिरञ्जीवी रेग्मी

सूचना प्रविधि विभागमा कार्यरत रेग्मीको २०७९ असार २४ गते निधन भयो । सामान्य अवस्थामा कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा भर्ना हुनुभएका रेग्मीको उपचारका क्रममा निधन भयो । उहाँ कम्प्युटर शाखामा कम्प्युटर सहायक पदमा कार्यरत हुनुहुन्थ्यो । गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकका रेग्मी २०७३ माघदेखि सेवा प्रवेश गर्नुभएको थियो । 

शेषकान्त पण्डित

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको कार्यरत अवस्थामै २०७९ माघ १७ गते निधन भयो । शिक्षा क्षेत्रमा कलम चलाएर ख्याति कमाउनुभएका ४७ वर्षीय पण्डितको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डित सामाजिक अध्ययन अध्यापन र पुस्तक लेखनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ कीर्तिपुरको सल्यानटार बस्दै आउनुभएको थियो । 

राधाप्रसाद जोशी

गोरखापत्रमा कार्यरत रहेकै अवस्थामा नायब कार्यकारी सम्पादक राधाप्रसाद जोशीको ५४ वर्षको उमेरमा निधन भयो । उहाँ लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । २०८१ वैशाख २६ गते ललितपुरस्थित किस्ट कलेजमा उपचारका क्रममा उहाँको निधन भयो । 

मिर्गौला प्रत्यारोपण सफल भए पनि उहाँको हृदयाघातका कारण निधन भयो । डोटीको सिलगढीका जोशी काठमाडौँको पुरानो बानेश्वरमा बस्दै आउनुभएको थियो । उहाँ २०५० पुसमा गोरखापत्र दैनिकमा सेवा प्रवेश गर्नुभएको थियो । 

लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।   

प्रस्तुत आलेख ‘गोरखापत्रका दुःखद घटना ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।