किएभ, फागुन १६ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
आइएमएफ एक्सटेन्डेड फन्ड फेसिलिटी (इएफएफ)अन्तर्गतको यो कार्यक्रम युक्रेनका लागि एक खर्ब ३६ अर्ब ५० करोड डलरको अन्तर्राष्ट्रिय समर्थन प्याकेजको एक हिस्सा भएको जनाइएको छ । यसको उद्देश्य युक्रेनको समग्र आर्थिक र वित्तीय स्थिरतालाई सुदृढ पार्नु र शासन लगायत संरचनात्मक सुधारलाई अगाडि बढाउनु रहेको जनाइएको छ ।
युक्रेनको अर्थ मन्त्रालयका अनुसार, कार्यक्रमको समग्र आर्थिक प्राथमिकतामा विवेकपूर्ण वित्तीय नीति कार्यान्वयन, मूल्य स्थिरता सुनिश्चित गर्ने, र बाह्य असन्तुलन रोक्न, विनिमय दरमा सहजता अभिवृद्धि गर्ने लगायतका विषय समावेश छन् ।
एक अर्ब ५० करोड डलरको कार्यक्रमको पहिलो किस्ता निकट भविष्यमा नै वितरण हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । रूस-युक्रेन द्वन्द्वको सक्रिय चरण अन्त्य हुने परिदृश्यमा भविष्यवाणी गरिएको सन् २०२३ मा युक्रेनका लागि स्वीकृत गरिएको अघिल्लो आइएमएफ वित्तपोषण कार्यक्रम रद्द गरिएको थियो । रासस/सिन्ह्वा