• १६ फागुन २०८२, शनिबार

प्रलोपा उम्मेदवारको समर्थन एमाले उम्मेदवारलाई

blog

कैलाली क्षेत्र २ का उम्मेदवार सूर्यबहादुर थापालाई प्रलोपाले सघाउने सहमतिपत्रपछि सहमतिपत्र साटासाट गर्दै डम्बरबहादुर रावल ।

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), फागुन १६ गते । कैलाली क्षेत्र २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्बरबहादुर रावलले नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापालाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गर्नुभएको छ ।

शनिबार लम्कीमा आयोजित सघाउने कार्यक्रम घोषणा कार्यक्रममा रावलले सहमतिपत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार थापालाई विजयी गराउन आफ्नो उम्मेदवारी निष्क्रिय गरी सघाउने बताउनुभयो ।

रावलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै प्रत्यक्षतर्फका उम्मेदवार थापालाई सघाउने, समानुपातिक तर्फबाट आ–आफ्नो पार्टीको चिह्नलाई मत माग्ने र निर्वाचन पश्चात क्षेत्र नम्बर २ को समग्र विकासमा दुवै पार्टीबिचमा सहकार्य गरिने सहमति भएको छ । 

उम्मेदवार समर्थन कार्यक्रममा लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य भगतबहादुर बडुवाल, एमालेका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य लीला भण्डारी, केन्द्रिय सदस्य कमला वली, झपट रावल लगायत दुवै पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।

केन्द्रिय सदस्य बडुवालले विषम परिस्थितिमा हुन थालेको चुनावमा देश र संविधानको रक्षाका लागि अलग–अलग उम्मेदवार जित्न नसक्नेभन्दा एक जनाले चुनाव जित्न सकोस भन्ने उद्देश्यले एमालेका उम्मेदवारसँग तालमेल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश गम्भीर मोडमा छ । विद्रोहपछि सल्बलाएका शक्तिहरूले देशको अस्मितामाथि नै खतरा उत्पन्न गर्ने भएकाले हामी संविधान र देशको रक्षा गर्नुपर्छ भन्ने सोचेर हामी यो निर्णयमा पुगेका हौ ।”

व्यवस्था र संविधान रक्षाका लागि भएको सहमति र समर्थनले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने एमालेका केन्द्रिय सदस्य भण्डारीले बताउनुभयो । एमाले उम्मेदवार थापाले आफू निर्वाचित भएपछि यहाँका जनताका लागि र देशका लागि नवीन कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देश विकास र समृद्धिका लागि फुटेर नभइ जुटेर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो ।