• १६ फागुन २०८२, शनिबार

कोहलपुरमा अव्यवस्थित केवल तार हटाउन १५ दिने अल्टिमेटम

blog

कोहलपुर नगरपालिका कार्यालय । तस्बिर: सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन १६ गते । बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका प्रयोगविहीन तथा अव्यवस्थित केवल तारहरू १५ दिनभित्र हटाउन सार्वजनिक सूचनामार्फत अल्टिमेटम दिएको छ।

नगर क्षेत्रमा जडान भई अव्यवस्थित रूपमा झुन्डिएका केवल तारका कारण सहरी सौन्दर्यीकरणमा कुरुपता देखिनुका साथै आगलागी र सवारी दुर्घटनाका घटनासमेत हुने गरेकाले हटाउन निर्देशन दिइएको हो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले १५ दिनभित्र तार हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले केवल तारसँग सम्बन्धित संस्थाहरूलाई १५ दिने सूचना जारी गरी व्यवस्थापनका लागि निर्देशन दिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार अव्यवस्थित रूपमा झुन्डिएका केवल तारका कारण नगरको सुन्दरतामा ह्रास आएको र जताततै लतारिएका तारले दुर्घटना निम्त्याउन सक्ने भएकाले तत्काल हटाउने निर्णय गरिएको हो । सो समस्याको व्यवस्थापनका लागि सरोकारवाला पक्षहरूको बैठकले तत्काल तार हटाउन लगाउने निष्कर्ष निकालेको थियो ।

बैठकको निर्णयअनुसार नगर क्षेत्रभित्र विभिन्न केवल टेलिभिजन तथा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले जडान गरेका र हाल प्रयोगविहीन अवस्थामा रहेका सबै अव्यवस्थित तार सम्बन्धित निकायले चैत १ गतेभित्र आफैँ हटाउनुपर्नेछ । तोकिएको समयभित्र तार नहटाए चैत २ गतेदेखि नगरपालिकाले त्यस्ता तार हटाउने कार्य आफैँ सुरु गर्नेछ ।

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रयोगविहीन तार नहटाएमा नगरपालिका आफैँले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाटै असुलउपर गरिने स्पष्ट पारेको छ ।