• १६ फागुन २०८२, शनिबार

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौँ, फागुन १६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षा थप संवेदनशील बनेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।

शनिबार एक सन्देश जारी गर्दै सभापति थापाले मध्यपूर्वको बदलिँदो परिस्थितिबारे सुसूचित रहन र सुरक्षा सतर्कता अपनाउन त्यहाँ रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गर्नुभएको छ। “सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला,” उहाँले भन्नुभएको छ।

सभापति थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गर्नुभएको छ। नेपालीको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका कारण रोजगारी र अन्य सिलसिलामा त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षालाई लिएर चौतर्फी चासो बढेको छ।