गोरखापत्र अनलाइन
दमक, फागुन १६ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाइको उच्च सम्मान गर्दै उहाँलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।
अभिनन्दनको क्रममा स्थानीयहरुले बाँकी रहेका पूर्वाधार विकासका कामहरु पूरा गर्न आग्रह गर्नुभयो । यस्तै, सोही वडाको झोलुङ्गे पुलनजिक आयोजित कार्यक्रममा स्थानीयहरुले सो पुल निर्माण भएकै कारण स्थानीयहरुको दैनिकी सहज भएको बताउनुभएको थियो । यहाँको भूमिसम्वन्धि समस्या समाधान गरीदिन स्थानीयको माग रहेको थियो । अध्यक्ष ओली फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट उम्मेद्वार रहनुभएको छ।
अध्यक्ष ओलीले स्थानीय दाजुभाइ तथा दिदीवहिनीहरुले राख्नुभएको माग आफ्नो प्राथमिकतामा रहेको बताउँदै निर्वाचित भएपछि निर्माण बाँकी रहेका सबै काम पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सो अवसरमा उहाँले निर्वाचनमा आफू र आफ्नो दललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।