• १६ फागुन २०८२, शनिबार

धिमाल संग्रहालयमा ओली, अन्य उम्मेदवार पनि घरदैलोमा

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धिमाल सङ्ग्रहालयमा ।

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन १६ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धिमाल संग्रहालयको अवलोकन गर्नुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा रहनुभएका ओली दमक –९ स्थित धिमाल संग्रहालय पुग्नुभएको हो ।

संग्रहालय परिसरमा धिमाल समुदायको पहिचान झल्कने विभिन्न मूर्तिहरू निर्माण गरिएका छन् । सानो आकारको पोखरी, गणेश तथा हनुमानका मूर्ति, पूजास्थल लगायतका संरचनाहरू यहाँ छन् । संघीय, प्रदेश र स्थानीय सरकाले संग्रहालय निर्माणका लागि लगानी गरेको छ ।

ओखलमा महिलाले चामल कुट्दै गरेको, पुरुषहरू कुकुरसहित खेतीमा जाँदै गरेको, ढोल बजाउँदै गरेको, सिङ्गो सुँगुर भारमा झुण्ड्याएर बोकेको जस्ता धिमाल संस्कृतिलाई प्रतिबिम्बित गर्ने दृश्यहरू मूर्तिमार्फत प्रस्तुत गरिएका छन् । 

धिमाल समुदायको जन्मदेखि विवाह र मृत्यु संस्कार, मेला, हाटबजारको शैली, खेती तथा शिकार परम्परालाई मूर्तिकलामार्फत जीवन्त रूपमा चित्रण गरिएको छ । दमक नगरपालिकाले धिमाल जातिलाई पहिलो नगरसभाबाटै यहाँ प्रथम नागरिकको रूपमा घोषणा गरेको थियो । 

सो अवसरमा ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको भन्दै यस प्रकारका संग्रहालयहरुको विकास र सम्बर्धनमा आफ्ूहरु लागिरहेको बताउनुभयो । अध्यक्ष ओली निरन्तर घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहनु भएको एमाले झापाले जनाएको छ ।

यसैगरी रास्वपाले पनि घरदैलोलाई निरन्तरता दिएको छ । रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह उम्मेदवार रहनुभएको छ । साह हाल यहाँ नभए पनि उहाँको सचिवालय र रास्वपाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । रास्वपाका नेता भेषराज भट्टराईका अनुसार दमकलगायत क्षेत्रभर नै निर्वाचन अभियान तीव्र बनाइएको छ ।

नेपाली काँग्रेसले दमकमा नै घरदैलो कार्यक्रम गर्दैआएको छ । यस क्षेत्रकी उम्मेदवार मन्धरा पौड्याल चिमोरीयाले आफूहरु निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै जनताको घरदैलोमा गइरहेको बताउनुभयो । शनिवार दमकका बिभिन्न क्षेत्रहरुमा घरदैलो भएको उहाँले जानकारी दिनुभयो ।

नेकपाका उम्मेद्वार रञ्जित तामाङले शनिवार पत्रकार सम्मेलन गरेर आफूहरु निर्वाचनको मैदानमा रहेको र कसैसँग अघोषित गठबन्धन नगरेको बताउनुभयो । बाहिर बिभिन्न हल्ला चलाइएको छ, उहाँले भन्नुभयो । निर्वाचनबाट हामी भाग्दैनौ र घरदैलोमा रहेका छौ, उहाँको भनाइ छ ।