काठमाडौँ, फागुन १५ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे विभिन्न जिल्लाका मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमन टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित गृह मन्त्रालय र सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता थियो।
टोलीले निर्वाचन सुरक्षाका सम्बन्धमा जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत तथा अन्य सरोकारवालासँग अन्तर्क्रिया र छलफल गरेको छ। गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार टोलीले शुक्रबार बिहान दोलखाको बैतेश्वर गाउँपालिकाका मतदान स्थलको अनुगमन गरी सुरक्षा अवस्थाको समीक्षा गरेको थियो। त्यसपछि ओखलढुङ्गा पुगेर निर्वाचन तयारीबारे जानकारी लिइएको थियो।
छलफलका क्रममा गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी छ, सबै मतदाताले ढुक्क भएर मतदान गर्नुहोला। गैरकानुनी गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिनेछ।” उहाँले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिनुभयो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कनुनी कारबाही गरिने बताउँदै निर्वाचन निष्पक्ष हुनेमा विश्वास व्यक्त गर्नुभयो। पहाडी जिल्लापछि टोलीले मोरङ, रौतहट र पर्साका मतदान स्थलको समेत निरीक्षण गरेको छ। रौतहटमा आयोजित कार्यक्रममा गृहमन्त्रीले तराई–मधेश क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लाको शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न गरिएको प्रयासबारे जानकारी गराउनुभयो। मुख्य निर्वाचन अधिकृत मनोज केसीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवगत गराउनुभयो।
अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी हुनुहुन्थ्यो।