सुधा देव
भारदह (सप्तरी), फागुन १५ गते । सप्तरीका चिरपरिचित दुई पूर्वसांसदले प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ मा नयाँ चुनावी तरंग देखिएको छ ।
पूर्वसांसद, वरिष्ठ बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवले कांग्रेसलाई समर्थन गर्ने तथा जिल्लाका चर्चित नेता एवं पूर्वमन्त्री जितेन्द्र नारायण देव निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा प्रवेश गरी सहयोग गर्ने घोषणा गरेपछि कांग्रेसको चुनावी तथा संगठनात्मक सक्रियता बढेको छ । सप्तरीका दुई प्रभावशाली नेताको सहयोग पाएपछि निर्वाचन क्षेत्र नं. १ र २ का कांग्रेस उम्मेदवार बलिया भएको स्थानीय मतदाताको भनाइ छ ।
निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसबाट उम्मेदवारी दिनुभएका कांग्रेसका सभापति रामदेव साह उक्त क्षेत्रबाट दुई पटक पराजित भए पनि तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । उहाँको पारिवारिक राजनीतिक पृष्ठभूमि पुरानैदेखि कांग्रेससँग जोडिएको छ । रामदेव साहले लामो समयदेखि जिल्लामा कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएकाले यस क्षेत्रमा राम्रो पकड बनाएको अवस्थामा डा. यादवको समर्थनले थप बल पुगेको कांग्रेस नेता शम्भुलाल देवले बताउनुभयो ।
डा. यादव २०७४ सालको निर्वाचनमा तत्कालीन समाजवादी पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । मधेशका मुद्दा सम्बोधन हुने विश्वासका साथ चाँडै कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
यस क्षेत्रबाट नेपाली कांग्रेसका रामदेव साह, नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा चौधरी तथा जनमत पार्टीका डा. जयकान्त राउतबिच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरी, जिल्लामा बुद्धिजीवी तथा प्रखर नेताका रूपमा परिचित पूर्वमन्त्री जितेन्द्र नारायण देवले निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका उम्मेदवार तथा जिल्ला उपसभापति रामकुमार यादवलाई सहयोग र समर्थन गरेपछि यस क्षेत्रमा पनि कांग्रेस बलियो भएको स्थानीय मतदाता रूवी झाले बताउनुभयो ।
उहाँका अनुसार यस क्षेत्रमा लामो समयपछि कांग्रेसको उम्मेदवार पाएपछि मतदाता उत्साहित भएका बेला लोकप्रिय नेता देव कांग्रेसमा प्रवेश गरेपछि कांग्रेसको पक्षमा सकारात्मक माहोल बनेको छ ।
रामकुमार यादवको पारिवारिक राजनीतिक पृष्ठभूमि पनि कांग्रेससँग जोडिएको छ । पञ्चायतकालपछि २०४८ सालको गाविस निर्वाचनमा उहाँका हजुरबुबा टुनटुन यादव नेपाली कांग्रेसबाट उम्मेदवार भई तत्कालीन ललापट्टी गाविसका अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
रामकुमार यादवले पनि लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवार पदमा रही काम गर्दै आउनुभएकाले यस क्षेत्रमा राम्रो पकड रहेको अवस्थामा देवको समर्थनले कांग्रेस उम्मेदवार थप बलियो भएको स्थानीय मतदाता तुलाकृष्ण यादवले बताउनुभयो ।
पूर्वमन्त्री देव २०७० सालमा कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत सांसद हुनुभएको थियो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा राष्ट्रियसभा सदस्यसमेत रहनुभएको थियो । त्यसपछि उहाँ कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो भने हाल पुनः कांग्रेसमै फर्किनुभएको हो ।
देशको वर्तमान परिस्थितिमा कांग्रेसको आवश्यकता रहेको र देशको परिवर्तनमा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै देश र जनताको हितका लागि आफू पुनः कांग्रेसमा फर्किएको पूर्वमन्त्री देवले बताउनुभयो ।निर्वाचन क्षेत्र नं. २ मा नेपाली
कांग्रेसका रामकुमार यादव, जनता समाजवादी पार्टीका उमेश कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव, जनमत पार्टीका डा. सिके राउत र स्वाभिमान पार्टीका सतिश सिंहबिच प्रतिस्पर्धा हुने भएको छ ।