• १५ फागुन २०८२, शुक्रबार

नवलपरासी कारागारबाट भागेका १८० कैदीबन्दी अझै फरार

blog

कारागार कार्यालय, नवलपरासी।

विकास अधिकारी 

परासी, फागुन १५ गते । पश्चिम नवलपरासी कारागारबाट भागेका १८० जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। गत भदौ २३ र २४ गते भएको कैदीबन्दी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते बिहान कारागारबाट भागेकामध्ये ३० महिला र १५० पुरुष अझै फरार छन्।

कारागार प्रशासनका अनुसार भागेका ४१ भारतीय कैदीबन्दीमध्ये तीन जना मात्र पक्राउ परेका छन् भने तीन महिलासहित ३८ जना अझै फरार छन्।

जिल्ला कारागार परासीका प्रमुख विकल्प श्रेष्ठले फरार कैदीबन्दीको खोजी कार्य पछिल्लो समय सुस्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो दुई महिनायता प्रहरीले भागेका कसैलाई पनि पक्राउ गर्न सकेको छैन। यद्यपि, भदौ २६ मा भागेकी एक महिला भने कैद भुक्तानका लागि शुक्रबार आफैँ कारागार फर्कनुभएको श्रेष्ठले बताउनुभयो।

भदौ २६ गते कारागारमा रहेका कुल ५७६ कैदीबन्दीमध्ये ५४६ जना भागेका थिए। कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरूलाई रिहा गर्नुपर्ने सर्त राखेका थिए। कारागारभित्र आगजनी र प्रदर्शन उग्र भएपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रण बाहिर देखिएपछि उनीहरूलाई बाहिर जान दिइएको थियो।

त्यस बेला ३० जनाले भने सजाय भुक्तान गरेर मात्र बाहिरिने भन्दै कारागारमै बस्ने निर्णय गरेका थिए। कारागारमा ८७ महिला र ४८९ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए। हाल कारागारमा दुई नाबालकसहित ४१४ जना कैदीबन्दी रहेका छन्।