• १५ फागुन २०८२, शुक्रबार

प्रधानमन्त्री कार्की र पाकिस्तानी राजदूतबीच भेटवार्ता: द्विपक्षीय हितका विषयमा छलफल

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेटपछि नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच हासमी । तस्बिर: केशव थापा

काठमाडौँ, फागुन १५ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच हासमीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटवार्तामा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनर्स्थापित भएको उल्लेख गर्दै आसन्न निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन लागेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त हुँदै आएको सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। भेटपछि दुवै पक्षबाट नेपाल–पाकिस्तानबीचको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ।