• १५ फागुन २०८२, शुक्रबार

चुनावी प्रचार : ठुला सभाभन्दा घरदैलो र भेटघाट उम्मेदवारको प्राथमिकता

blog

घरदैलो कार्यक्रममा सहभागी उम्मेदवार । तस्बिरः राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, फागुन १५ गते । विगतका आमनिर्वाचनको तुलनामा यसपटक राजनीतिक दल र उम्मेदवारको चुनावी प्रचार शैली फेरिएको छ। हिजोका दिनमा भव्य मञ्च, तडकभडक र ठुला आमसभालाई प्राथमिकता दिने दल तथा उम्मेदवारहरू यसपटक घरदैलो र व्यक्तिगत भेटघाटमा केन्द्रित देखिएका छन्।

मकवानपुरका दुवै निर्वाचन क्षेत्रका उम्मेदवार शुक्रबार पनि मतदाताको घरदैलो र सामूहिक भेटघाटमा व्यस्त रहे। राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य प्रमुख दलहरूले हालसम्म शीर्ष नेताको उपस्थितिमा ठुला आमसभा आयोजना गरेका छैनन्। उम्मेदवारहरूले फागुन ३ गतेसम्म आन्तरिक तयारी र कार्यकर्ता भेला सकेर अहिले मतदाताको दैलोमा पुग्ने अभियानलाई तीव्रता दिएका हुन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महालक्ष्मी उपाध्याय 'डिना' शुक्रबार हेटौँडा उपमहानगरपालिका–२ र ४ मा मतदातासँगको भेटघाटमा व्यस्त रहनुभयो। उहाँले लामो भाषणभन्दा मतदाताका अपेक्षा सुन्ने र आफ्ना योजना सुनाउने कार्य प्रभावकारी हुने भएकाले घरदैलोलाई प्राथमिकता दिएको बताउनुभयो। “मतदातासँग मन जोड्ने र एकअर्काप्रति रहेका भ्रम चिर्ने अभियानमा छु, त्यसैले प्रत्यक्ष भेटघाट नै उत्तम लागेको छ,” उहाँले भन्नुभयो।

यस्तै, नेकपा (एमाले) का क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले पनि प्रचारको माध्यम घरदैलो नै रोज्नुभएको छ। एमाले प्रचारप्रसार समितिका संयोजक नवीन सिग्देलले यसपटक आमसभाभन्दा कार्यकर्ता परिचालन र घरदैलोलाई नै प्राथमिकता दिइएको जानकारी दिनुभयो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर पुलामीले पनि विजय गौतमलाई उम्मेदवार बनाएर घरदैलो अभियान चलाइरहेको बताउनुभयो। उहाँका अनुसार १८ गतेसम्म आमसभा गर्ने योजना बनिसकेको छैन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहका तर्फबाट राप्रपा क्षेत्र नं. १ का अध्यक्ष उमेश थापाले आमसभाको विकल्पमा मोटरसाइकल र्‍याली र घरदैलोलाई जोड दिएको बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम तथा उज्यालो नेपाल पार्टीले पनि घरदैलोमार्फत मतदातासँग मत मागिरहेका छन्। श्रम संस्कृति पार्टीले भने सोमबार हेटौँडामा आमसभा गर्ने तयारी गरेको छ।

मतदाताका गुनासा र सुझाव प्रत्यक्ष सुन्न पाइने र उम्मेदवारले आफूलाई परिष्कृत गर्ने अवसर पाउने भएकाले यसपटक प्रत्यक्ष भेटघाटको शैली नै उम्मेदवारहरूको रोजाइमा परेको देखिएको छ। निर्वाचन क्षेत्र नं. १ मा २३ र क्षेत्र नं. २ मा २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।