शशिधर पराजुली
विराटनगर, फागुन १६ गते । झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहनुभएका गोरखापत्रकर्मी अर्जुनकुमार आचार्यमाथि आक्रमण गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।भोलुन्टियर्स फोर्सका सदस्यविरुद्ध शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरिएको हो ।
घाइते पत्रकार आचार्यले आफैँ उपस्थित भई दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिनुभएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनाको समूहविरुद्ध जाहेरी परेको जानकारी दिनुभयो । उहाँले ‘अभद्र व्यवहार’ को कसुरमा मुद्दा अगाडि बढाउन जाहेरी दर्ता भएको र सोहीअनुसार प्रहरीले प्रक्रिया अघि बढाएको बताउनुभयो ।
आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान भइरहेका बेला केही महिलाले ‘घण्टी’ मा भोट हाल्ने बताएपछि सोही घटनाको भिडियो खिचिरहनुभएका आचार्यलाई फोर्सको समूहले मुक्का र बुट प्रहार गरेको थियो ।
पत्रकार आचार्यले दर्ता गर्नुभएको जाहेरीमा आफ्नो लुटिएको मोबाइल फोन र चस्मा फिर्ता गर्न, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र उपचार खर्च भराउन माग गरिएको छ । उहाँले घटनाका बेला आफूलाई अपहरण गर्ने उद्देश्यले बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा चढाउन खोजिएको र दमक पुगेर ‘थप देखाइदिने’ धम्की दिइएको समेत उल्लेख गर्नुभएको छ ।
आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उहाँको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ भने उच्च रक्तचापका कारण अवस्था अझै सामान्य भइसकेको छैन ।
यसैबिच, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको बताउनुभएको छ ।