• १६ फागुन २०८२, शनिबार

प्रेमको ‘डोल्स्यो साँइली’ सार्वजनिक

blog

काठमाडौँ, फागुन १६ गते । लामो समयदेखि नेपाली तथा गुरुङ गीत–सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका चर्चित गुरुङ कलाकार प्रेम गुरुङको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘डोल्स्यो साँइली’ सार्वजनिक भएको छ । 

ग्लोबल नेपाल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तथा भ्याली फिल्म एकेडेमीको सहकार्यमा निर्माण गरिएको उक्त गीत यही फेब्रुअरी २७ मा औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

अमेरिकामा रहेरपनि नेपाली मौलिक सङ्गीत र गुरुङ संस्कृतिको प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएका प्रेम गुरुङ (ग्क्ब्) लामो समयदेखि सिर्जनशील यात्रामा सक्रिय कलाकारका रूपमा परिचित हुनुहुन्छ । 

उहाँका दर्जनौँ सिर्जनाले देश–विदेशमा रहेका नेपाली तथा गुरुङ समुदायमाझ विशेष स्थान बनाइसकेको छ। ‘डोल्स्यो साँइली’ पनि सोही निरन्तरताको अर्को महत्वपूर्ण कडी बनेको छ ।

गीतमा स्वर प्रताप दास र पवित्रा गुरुङको रहेको छ भने भिडियोमा प्रेम गुरुङ र चहाना रानामगरको अभिनय देख्न सकिन्छ । ग्रामीण परिवेश, सरल माया र संस्कृतिको भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियो दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गीतको निर्देशन अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता निर्देशक भूपेन्द्र गुरुङले गर्नुभएको छ । उहाँको सशक्त निर्देशनले गीतको भावनालाई अझ प्रभावशाली रूपमा प्रस्तुत गरेको छ ।

गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ रिकेश गुरुङले गर्नुभएको छ । छायाङ्कन रविन थापामगर, सम्पादन बन्दे प्रसाद, रङ संयोजन राजेन्द्र मोकतानको रहेको छ भने कोरियोग्राफी मानाङ तमुले गर्नुभएको छ । ड्रोन छायाङ्कन अभिनाश मानन्धरले गर्नुभएको छ ।