• १६ फागुन २०८२, शनिबार

मुस्ताङमा मदिरा बिक्री रोक

blog

जिल्ला प्रशासन कार्यालय मुस्ताङ ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), फागुन १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै मुस्ताङमा ६ दिनका लागि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जारी सूचनामा निर्वाचन मतपरिणाम सार्वजनिक नहुदाँसम्म मदिराजन्य पदार्थको सेवन तथा बिक्री वितरणलाई पूर्णरुपमा निषेध गरिएको हो । 

फागुन १५ गतेदेखि २१ गते बिहीबार मतगणना सम्पन्न नहुदाँसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गर्नेलाई कडा निगरानीमा राखिने सहायक प्रजिअ भण्डारीको भनाइ छ । 

सूचनाको अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । जिल्लामा एकिकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत संयुक्त गस्ती परिचालनमा समेत मदिरा बिक्री वितरण तथा सेवन गर्ने स्थानमा छड्के अनुगमन गर्न समेत निर्देशन दिइएको छ ।  

जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गर्न अपिल गर्दै सहयोग गर्न अनुरोध गरेको छ । यसैबिच बेनी–जोमसोम तथा कोरला–जोमसोम सडक खण्डमा गुड्ने सवारी साधनमा समेत चेकजाँच गरी मदिरा ढुवानी गरेमा जफत गरिने छ । 

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।