• १६ फागुन २०८२, शनिबार

‘मतदाताको मनोविज्ञान प्रभावित बनाउन खोजियो’

blog

पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाही लगायत ।

ललित बसेल

सुर्खेत, फागुन १६ गते । नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभावित पार्ने उद्देश्यले सार्वजनिक गरिएको आरोप लगाउनुभएको छ । 

उहाँले उक्त डकुेन्ट्री निर्वाचन हुने दिनको मुखमा सार्वजनिक गर्नुले मतदातालाई प्रभावित पार्ने उद्देश्यले ल्याइएको हुँदा यस्ता गतिविधि रोक्न सुझाव दिनुभयो । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बिबिसीको डकुमेन्ट्री सार्वजनिक गरिनु, मिडियामा मत सर्वेक्षण गर्नुले मतदातालाई प्रभावित पार्न खोजिएको र उनीहरूको छनोटको अधिकारलाई पनि बञ्चित बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले) सँधै स्वतन्त्र प्रेसको सम्मान गर्ने भन्दै उहाँले पछिल्ला गतिविधिले मतदातालाई प्रभावित बनाउन खोजिएकोमा पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो । उहाँले यस पटकको निर्वाचनमा नेकपा (एमाले) ले लोकप्रिय मत प्राप्त गरी सरकारको नेतृत्व गर्ने दाबी गर्दै पार्टीले कहीं कतै गठबन्धन नगरेको स्पष्ट पार्नुभयो । 

जेनजी पुस्ताको आवाजलाई पनि पार्टीले आफ्नो प्रतिबद्धतापत्रमा सम्बोधन गरेको हुँदा यो चुनावलाई पार्टीले देश बचाउने र देश जलाउने बिचको लडाइँ भएको टिप्पणी गर्नुभयो । जेजनी पुस्ताको आवाज जायज भएको तर आन्दोलनको नाममा भएको क्षति र विध्वंशको उहाँले कडा शब्दमा आपत्ति जनाउनुभयो ।

कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रका साथै देशभर एमालेले विजयी हासिल गर्ने र एमालेको पक्षमा माहोल बनिरहेको दाबी उहाँले गर्नुभयो । निर्वाचनका लागि पार्टीका १४ लाख बढी नेता कार्यकर्ताहरू अहिले खटिएको हुँदा आगामी सरकारको नेतृत्व एमालेले नै गर्ने उहाँको भनाइ छ । 

पार्टीले आफ्नो प्रतिबद्धता पत्रमा युवाको आवाज सम्बोधन गरेको, प्रविधि, उद्यमशीलता, सामाजिक सुरक्षा, रोजगारी र विकासलाई प्राथमिकता दिएको हुँदा एमालेले सवैको आवाज बोकेको जिकिर उहाँले गर्नुभयो । फागुन २१ गतेको निर्वाचनलाई शान्ति सुरक्षा र भयमुक्त वातावरणमा बनाउनुपर्ने सुझाव दिँदै उहाँले अझै पनि केही शंसय बाँकी रहेको बताउनुभयो ।

एमाले सधैं संविधान, कानुनी शासन र लोकतन्त्रप्रति प्रतिबद्ध भएको हुँदा निर्वाचनलाई प्रभावित हुने गतिविधिहरू कसैले नगर्न आह्वान गर्नुभयो । नेकपा (एमाले) सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाले पछिल्लो समय वीरेन्द्रनगर नगरपालिका–१० मा मतदातालाई प्रभावित पार्न पाइप बाँडिएको आरोपको खण्डन गर्दै पार्टीले त्यस्ता गतिविधि नगरेको प्रष्ट पार्नुभयो ।