ला पाज, फागुन १६ गते । बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।
सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्णरूपमा नष्ट भएको र केही ट्रकमा क्षति पुगेको देखिएको छ । विमान ठोक्किएपछि सडकमा छरिएका बैँकनोट सङ्कलन गर्न दर्शकहरू हतारिएका थिए, जसलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पछि अधिकारीहरूले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए ।
दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रत्यक्षदर्शीहरूले त्यसबेला मौसम अत्यन्त खराब रहेको बताएका छन् । ६० वर्षीया बिक्रेता क्रिस्टिना चोकले एएफपीसँग कुरा गर्दै भारी असिना परेको र बिजुली चम्किरहेको बताउनुभयो । उहाँको कारमा विमानको भग्नावशेष ठोक्किएको थियो । “टायर हाम्रो माथि खस्यो मेरी छोरी घाइते छिन्, उनको टाउकोमा चोट लागेको छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरले पत्रकारहरूलाई १५ देखि १६ जनासम्मको मृत्यु गणना गरिएको जानकारी दिनुभयो । “हामी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव बरामद गर्दैछौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले कम्तीमा २८ जना घाइते भएको जनाएको छ ।
विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मृत्यु दर्ता भएको जनाइएको छ । बोलिभियन एयर नेभिगेसन तथा एयरपोर्ट प्राधिकरण नाबोलले सी–१३० पूर्वी सहर सान्ता क्रुजबाट उडेको र एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ । घटनापछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ ।
लकहिड मार्टिनद्वारा निर्मित उक्त विमानले बोलिभियन बैँकनोट बोकेको थियो, जुन दुर्घटनापछि प्रभावका कारण छरिएको थियो । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानमा ओसारपसार गरिएको पैसामा कुनै आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानुनी वा खरिद शक्ति नरहेको स्पष्ट पारेको छ । “यसको सङ्कलन, कब्जा वा प्रयोग एक अपराध हो”, मन्त्रालयले जनाएको छ ।
दुर्घटनापछि सडकमा देखिएको अराजकताको फाइदा उठाएर केही व्यक्तिले लुटपाट गरेको सूचना प्राप्त भएको ला पाज अभियोजकको कार्यालयले जनाएको छ । अभियोजक लुइस कार्लोस टोरेसले सोधपुछका लागि १२ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
दुर्घटनाका बेला चोक र उहाँको परिवार लुटपाटको डरले भग्नावशेष भएको गाडीभित्रै बसेका थिए । एल अल्टोका अस्पतालहरूले घाइतेहरूको उपचारका लागि रक्तदान अभियान सुरु गरेका छन् ।
तीन हजार ६५० मिटर उचाइमा अवस्थित ला पाज एन्डियन चुचुराहरूले घेरिएको विश्वकै सबैभन्दा अग्लो प्रशासनिक राजधानी हो । रक्षा मन्त्रालयले घटनाको औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ । रासस/एएफपी