धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन १६ गते । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल सेना अन्तर्गत राजविराजस्थित बरख गणले सप्तरीका २९६ वटै मतदान स्थलमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी अभ्यास तीव्र बनाएको छ।
बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित समन्वित सुरक्षा अभ्यास सञ्चालन गरिएको हो।
उहाँका अनुसार अघिल्ला निर्वाचनका अनुभव, सम्भावित जोखिमको मूल्याङ्कन तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। संवेदनशील तथा अतिसंवेदनशील मतदान स्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक जाँच तथा निगरानी व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो।
मतदान स्थल वरपर २४ सै घण्टा सुरक्षा निगरानी रहने व्यवस्थासँगै कुनै पनि अवाञ्छित वा अराजक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको उहाँलेले जनाउनुभयो । सुरक्षाकर्मीहरू निर्वाचन आचारसंहिताभित्र रही आवश्यक सहयोग र समन्वयमा खटिने स्पष्ट पार्नुभयो ।
निर्वाचन प्रक्रियामा अवरोध पुर्याउन सक्ने व्यक्ति वा समूहको गतिविधिमाथि निगरानी बढाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको उहाँले जानकारी गराउनुभयो। साथै, गस्ती तथा फ्ल्याग मार्चमार्फत सम्भावित जोखिमयुक्त स्थान र भाग्ने सकिने बाटोहरूको पहिचान गरिएको उहाँले स्थानीय बासिन्दासँग सहकार्य गरी सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउँदै शङ्कास्पद गतिविधिमा संलग्न जोकोहीलाई प्रचलित कानुनको दायरामा ल्याइने रणनीति अवलम्बन गरिएको उहाँले बताउनुभयो।
सप्तरी जिल्लाभर सयौँ मतदान केन्द्रमार्फत हजारौँ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको नेपाली सेनाले व्यापक सुरक्षा व्यवस्थासँगै यसपटकको निर्वाचन थप व्यवस्थित, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।