भूगोल र हावापानीको अनुपम विविधतायुक्त नेपालमा फूल फुल्ने साढे छ हजारभन्दा बढी प्रजातिका बोट विरुवा पाइए पनि ४२० प्रजातिका फूलको मात्र उत्पादन भइरहेको छ । साँझ बिहानदेखि मन्दिरसम्मका नित्य पूजापाठ, धार्मिक, सांस्कतिक, सामाजिक संस्कार पर्वमा फूल (पुष्प) पवित्र मान्ने प्रचलन परापूर्वकालदेखिकै हो । आफ्ना बारीबगैँचा, आँगनका डिलमा हुर्काइएका फूल, पाती, दुबोले नै दैनिक कर्मदेखि तिहार जस्ता फूलमालाको बढी प्रयोग हुने पर्वसम्मको माग धानिएको थियो तर घर पसल आदि फूलैफूलले सिँगारिने चलनसँगै विदेशमा उत्पादित फूल भित्रिन थाल्यो । त्यसले पनि नपुगेर प्लास्टिक र कपडाका फूल आयात गरेर सिँगारपटार हुन थाल्यो । फूल प्रयोगप्रतिको आकर्षणका कारण फूलको व्यावसायिक कारोबारले मुलुकको अर्थतन्त्रमा नै प्रभाव जमाउन थाल्यो । तिहार पर्वमा मात्रै करोडाैँ रुपियाँको फूल आयात गर्नु परेपछि नेपालमा पुष्पखेतीले पनि व्यावसायिक रूप लिएको छ । एक डेढ दशकमै करिब व्यावसायिक आत्मनिर्भरताको सफलता दिलाएको पुष्पखेती प्रोत्साहन, प्रवर्धनमार्फत प्रमुख निर्यात वस्तु प्रमाणित गर्नुपर्ने छ । यसका लागि पहिलो आवश्यकता हो, मुलुकको पुष्प आनुवांशिक स्रोत संरक्षण ।
विसं २०६९ मा ३५ जिल्लाका छ सय जना जति किसान आबद्ध भएको पुष्पखेतीमा हाल ४८ जिल्लाका ११ सय जनाभन्दा बढी व्यावसायिक रूपमा संलग्न छन् । उतिखेर ९१ करोड रुपियाँ हाराहारीमा रहेको पुष्प व्यावसायिक कारोबार वार्षिक १०, १५ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ७० करोड रुपियाँमा पुग्यो । पुष्प प्रवर्धन नीति, २०६९ कार्यान्वयनको प्ररिणामस्वरूप सात अर्ब सात करोडभन्दा बढी लगानी पुगेको यो व्यवसायमा ४४ हजार जनाभन्दा बढीले रोजगारी पाएका आधिकारिक तथ्याङ्क देखिन्छन् । दीर्घकालीन कृषि योजना तथा राष्ट्रिय कृषि नीति, २०६१ वाणिज्य नीति, २०६५ ले प्रमुख निर्यात योग्य र उच्च मूल्य वस्तुको सूचीमा राखेको फूल नागरिकको जीविकोपार्जन, गरिबी निवारण र मुलुककै आर्थिक क्रियाकलापका निम्ति दीर्घ लाभकारी रहेको यसको फस्टाउँदो कारोबारले पुष्टि गरेको छ ।
अपितु, नेपाली माग धान्न प्राकृतिक र कृत्रिम फूलको आयात अझै गरिरहनु परेको छ, यस पटकको तिहारमा चाहिँ सरकारले विदेशबाट फूल आयात गर्न अनुमति दिएको छैन । तिहारका लागि आन्तरिक उत्पादनले नै धान्ने भएपछि विदेशबाट प्राकृतिक तथा प्लास्टिकजन्य फूलमाला आयात अनुमति नदिइएको हो । तथापि, अझै २० प्रतिशत माग पूरा नहुने देखेर व्यवसायीहरूले पहिले नै आयात अनुमतिपत्र लिएका बुझिन्छ । कुल ४० लाख फूलमाला खपतको अनुमान व्यवसायीको छ । पुष्प विकास केन्द्रले स्वदेशी उत्पादनले नै माग पूरा गर्ने देखेर आयात अनुमतिपत्र नदिनु स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रवर्धन हो । कृषि विकास मन्त्रालयबाट मात्र होइन, काठमाडौँ महानगरपालिका, तल्सीपुर नगरपालिका लगायतले प्लास्टिकजन्य कृत्रिम फूलमाला प्रयोग निषेध गरेका छन् । यी निर्णयहरू स्वदेशी जैविक पुष्प व्यवसाय राज्यका प्रोत्साहन हुन् ।
सङ्घीय कृषि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात रोक्न देशभर रहेका १४ वटा प्लान्ट क्वारेन्टाइन कार्यालयलाई भनेको छ । केन्द्रले बिरुवा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ अनुसार देश बाहिरबाट आउने वनस्पतिजन्य वस्तुमा रोग, किराको परीक्षण गर्ने गरेको छ । तिहार बजारको आकलन गरी पहिले नै आयात अनुमतिपत्र लिएका व्यापारीहरूले बढी मुनाफा कमाउन ‘सस्तो बेसाहा’ भित्र्याउन सक्ने हुँदा क्वारेन्टाइन परीक्षणले मुलुकको मौलिक जैविक विविधता संरक्षणमा सघाउ पुग्ने छ ।
तिहारमा नेपालमा गोदावरी, मखमली र सयपत्री फूल बढी खपत हुन्छ । विविध कारण फूलमाला महँगो हुँदा सस्तो खोजिनु स्वाभाविक हो तर सस्तो बेसाहाले पेट चल्न सक्छ भने झैँ रोग, किरा लागेको सस्तो फूलका कारण आफ्ना फूलबारीमा रोग किराको प्रकोप फैलिने सम्भावना हुन्छ । रासायनिक चिजबिज प्रयोग गरिएका फूल मालाले वातावरणीय असर अर्थात् जैविक विविधतामा खलल पु¥याउने र मानव स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्छ । विदेशबाट आउने फूलको जैविक परीक्षणलाई कडाइ गर्नुको मूल उद्देश्य रैथाने जैविक विविधता र मानव स्वास्थ्य संरक्षण हो । अब पुष्प आयात पूर्ण प्रतिस्थापन गरी प्रमुख निर्यातजन्य वस्तुमा परिणत गर्न मौलिक जैविक पुष्पखेती प्रवर्धन गर्नु पर्छ । गुणस्तरीय उत्पादनसँगै आनुवांशिक स्रोतहरूको स्वाधिकार (पेटेन्ट राइट) सुरक्षण कार्य प्राथमिकतामा पारिनु पर्छ ।