• १२ साउन २०८१, शनिबार

‘संविधानले परिकल्पना गरेको सङ्घीयता छैन’

blog

पूर्वमा बबई र पश्चिममा भेरी नदीको किनारसम्म फैलिएको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रमुख ढकालसँग गोरखापत्र दैनिकका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी : 

भेरीगङ्गाको प्रमुखमा निर्वाचित भएपछि के काम गर्नुभयो ? 

भेरीगङ्गा नगरपालिकालाई नीति, विधि र सुशासनको बाटोमा हिँडाउन अभियान नै‌ चलाएका छौँ । विगतमा नगरपालिकाभित्र भ्रष्टाचार छ, नीति विधि छैन भन्ने भाष्य उत्पन्न थियो, अहिले हामीले त्यसलाई निराकरण गरिरहेका छौँ । त्यसका लागि हामीले‌ पहिला कानुन निर्माण ग¥यौँ । यो बिचमा हामीले दुई दर्जन जति कानुन निर्माण गरेका छौँ । हामी नगरपालिकालाई नीति, विधिमा हिँडाउन चाहन्छौँ । नगरपालिकामा फजुल खर्चको‌ अन्त्य गरेका छौँ । कानुन बनाई सुशासनको बाटोमा नगरपालिकालाई अघि बढाएका छौँ ।‌ भ्रष्टाचार निर्मूल गरेका छौँ भने जनतालाई मुस्कानसहितको सेवा दिने उद्देश्यसहित कर्मचारी, प्रशासनलाई जनमैत्री बनाएका छौँ ।

जनताको सेवा कसरी गरिरहनुभएको छ ?

हामीले छिटो छरितो तरिकाले सेवा दिने काम गरेका छौँ । नीति, कार्यक्रम हामीले निकै मेहनतसाथ बनाएका छौँ । भेरीगङ्गा नगरपालिकाको कायापलट गर्न ‘समृद्ध भेरीगङ्गा, सुखी भेरीगगङ्गावासी’ को नारा अघि सारेका छौँ । जनतालाई सहजसाथ सेवा प्रवाह, रोजगारीका साथै भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

तपाईं प्रमुख निर्वाचित भएपछि भेरीगङ्गामा विकास निर्माणमा के के काम गर्नुभयो ?

हामीले अहिले बाटो, सिँचाइ, खानेपानी र विद्यालयका संरचना बनाउने काम गरिरहेका छौँ । यहाँ सम्भावित पर्यटकीय क्षेत्रको समेत विकास भइरहेको छ । मन्दिरको व्यवस्थापनसहित पर्यटकीय गुरुयोजना बनाएका छौँ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तनलाई ध्यानमा राखेर स्थानीय अनुकूल योजना बनाएका छौँ । त्यसका आधारमा नगरले काम गरिरहेको छ । यो वर्षदेखि भेरीगङ्गालाई पूर्ण सरसफाइयुक्त नगर बनाउने तयारीमा छौँ । त्यसका लागि ‘सरसफाइ अभियान वर्ष–२०८०’ घोषणा गरेर विभिन्न संस्थासँग मिलेर सरसफाइसम्बन्धी चेतना फैलाउने काम गर्ने छौँ । फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापन पनि गरिरहेका छौँ ।

स्थानीय तहकोे अधिकारलाई प्रयोग गर्नुभएको छ ?

संविधानले थुप्रै व्यवस्था गरेको छ तर त्यो अनुसार कानुन बनेको छैन । सङ्घ र प्रदेश सरकारले स्थानीय सरकारलाई अधिकार दिने कुरामा कन्जुस्याइँ गरिरहेका छन् । जति दिनपर्ने हो त्यो दिइएको अवस्था छैन । २२ वटा अधिकार प्रस्ट छन् तर ती एकल सूचीका अधिकारलाई साझा सूचीमा राखिएका छन् । २२ वटा अधिकार दियौँ भन्ने भयो तर, अर्काे कानुनले रोकेर राखेको छ । संविधानले जे परिकल्पना गरेको थियो, त्यो अनुसारको सङ्घीयता आएको छैन ।  अर्काे कुरा राजनीतिक सङ्घीयता आयो तर वित्तीय सङ्घीयता र प्रशासनिक सङ्घीयता भएन । जति रकम बाँडफाँट गर्नुपर्ने हो, वास्तवमा त्यो भएको छैन । जनताको काम रातदिन गर्ने‌ स्थानीय तह हो तर त्यहाँ बजेटको पर्याप्त पूर्ति भइरहेको छैन । प्रदेशबाट पनि त्यो खालको व्यवस्थापन गरिएको छैन ।

त्यसैले गर्दा वित्तीय सङ्घीयता अझै पूर्ण रूपमा लागु भएको छैन । यसलाई लागु गर्नका लागि निश्चित तरिकाले बजेट विनियोजन गरिनुपर्ने हुन्छ । प्रशासनिक सङ्घीयतामा अहिले पनि कार्यालय सहयोगी सरुवा बढुवा गर्न परे सङ्घीय सरकारले गर्छ यो सङ्घीयताको मर्म होइन । बजेटको पर्याप्त, समानुपातिक वितरण र संस्थागत समन्वय हुनु पर्छ ।  

तपाइकाे पालामा भेरीगङ्गा नगर कस्तो बन्छ ?

भेरीगङ्गालाई नीति, विधि र प्रविधियुक्त बनाउँछौँ । प्रशासनिक भवन थिएन अहिले आफ्नै भवन बनाउने कामको सुरुवात गरेका छौँ । सुशासनयुक्त, भ्रष्टाचाररहित नगरपालिका बनाउने पहिलो मिसन हो । दोस्रो भौतिक पूर्वाधार बाटो, बिजुली, स्वास्थ्य र विद्यालयमा फड्को मारिसकेका हुने छौँ । जनतालाई जग्गाको मालिक बनाउने उद्देश्यसहित जमिनको समस्या समाधान गर्ने छौँ ।  

भेरीगङ्गा उपत्यका नमुनाका आधुनिक सहर निर्माणको घोषणा गरिएको छ, यसमा तपाईंको धारणा कस्तो छ ?

आधुनिक सहर निर्माण हुनु असाध्यै राम्रो कुरा हो । यसमा हाम्रो पूर्ण साथ र समर्थन रहन्छ । भेरीगङ्गा नगरपालिकाले गर्नुपर्ने कामका कुनै कमी हुने छैन । सङ्घ सरकारले यो कामलाई छिटो अगाडि बढाउनु पर्छ । ढिला भइरहेको छ ।