जनार्जन खत्री
सर्लाही, कात्तिक ६ गते । तिहारको अवसरमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीन मिलेर देउसीभैलो खेलिरहेका छन् । साँस्कृतिक जर्गेना गर्ने मुख्य उद्देश्यसहित दृष्टिविहीनले तीन दिनदेखि देउसीभैलो खेलिरहेका हुन् । नेपाल नेत्रहिन सङ्घ मधेश प्रदेशको आयोजनामा विभिन्न जिल्लामा देउसीभैलो खेलेर हिँडिरहेको सङ्घका प्रदेश अध्यक्ष लक्ष्मेश्वर महतो कुशवाहाले जानकारी दिनुभयो ।
साँस्कृतिक जर्गेनासहित शिक्षामा पहुँच, अध्ययन सामग्री उत्पादन, छात्रवृत्ति कोष, आत्मनिर्भर प्रवर्धन र क्षमता विकासका लागि देउसीभैलो खेल्दै हिँडेको महतोले बताउनुभयो । दृष्टिविहिनको समूहले बुधबार साँझ पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी बजारमा देउसीभैलो खेलेको छ ।
सिन्धुलीको दुधौली, महोत्तरीको गौरीडाँडा, बर्दिवास, गौशालालगायत स्थानमा देउसीभैलो खेलेर लालबन्दी आइपुगेको नेपाल नेत्रहिन सङ्घ मधेश प्रदेशकी कोषाध्यक्ष अन्जु धितालले जानकारी दिनुभयो । “तिहारमा हामीले वर्षेनि यसरी देउसीभैलो खेल्ने गरेका छौँ,” धितालले भन्नुभयो, “संस्कृतिको जर्गेना गर्ने नै मुख्य उद्देश्य हो ।”
धितालका अनुसार देउसीभैलामा सर्लाही, महोत्तरी, रौतहट र बाराका विभिन्न विद्यालयमा अध्यापन गराउने दृष्टिविहीन शिक्षक, दृष्टिविहीनको साँस्कृतिक टोलीलगायत सामेल छन् । आफै देउसी भट्याउने, गीत गाउने गर्दै अघि बढिरहेको दृष्टिविहीनको देउसीभैलोमा स्थानीय वासिन्दा, व्यवसायी, बटुवालगायतले आर्थिक सहयोग गरिरहेका छन् ।
तिहारमा सबै पक्षको साथ सहयोगले वर्षेनी यसैगरी देउसीभैलो खेल्ने गरिएको नेपाल नेत्रहिन सङ्घ मधेश प्रदेशका साधारण सदस्य शिवेन्द्र यादवले बताउनुभयो । “कतैकतै मात्र सहयोग हुँदैन तर हामी दृष्टिविहीनलाई सबैतिर स्थानीय, व्यवसायी, अगुवा, युवा, पत्रकारलगायत सबैले साथ सहयोग गर्नुभएको छ ।”