रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १५ गते । जिल्ला भलिबल सङ्घ गुल्मीको आयोजनामा तम्घासमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आज (बुधबार)देखि कात्तिक १८ सम्म चिदिचौर खेल मैदानमा हुने भलिबल प्रतियोगितामा यस जिल्लाका १२ वटै स्थानीय तहबाट महिला र पुरुष गरी २१ टिम सहभागी भएको सङ्घले जनाएको छ ।
प्रथम गुल्मी भलिबल कप २०८० आयोजना गरी जिल्लामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिबल सङ्घ गुल्मीका महासचिव नारायण आचार्यले बताउनुभयो । प्रतियोगितामा चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकाबाट महिला खेलाडीको सहभागिता छैन ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपियाँ, द्वितीय हुनेले ५५ हजार ५५५ रुपियाँ, तृतीय हुनेले ३३ हजार ३३३ रुपियाँ र सान्त्वना हुनेले ११ हजार १११ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यस्तै, महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपियाँ, द्वितीय हुनेले २५ हजार रुपियाँ, तृतीय हुनेले १५ हजार रुपियाँ र सान्त्वनाले हुने नगद १० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल खेलेका खेलाडी सहभागी हुन नपाउने संघले जनाएको छ । दिउँसो २ बजेदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गर्नुहुनेछ ।