विजयकुमार साह
ढल्केबर, कात्तिक १५ गते । इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ ।
इजरायलमा असोज २० गते हमास समूहको आतङ्ककारी हमलामा परी आनन्दको मृत्यु भएको थियो । मृत्युको खबर सुनेसँगै परिवारमा चलेको रुवाबासी अझै रोकिएको छैन ।
आनन्दका पिता सोमन साह, आमा शुभकली साह, ७० वर्षीया हजुरआमा बसमतियादेवी साह, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साहको पीडा अहिले पनि उस्तै छ ।
अप्रत्याशित घटनाले पिरोलिएका परिवारलाई एक पटक आनन्दको मुहार हेर्ने चाहना छ । आनन्दका पिता सोमनले भन्नुभयो, ‘‘एक पटक छोराको मुहार हेर्ने लालसा छ । चाँडै लास ल्याइदिएको भए परम्पराअनुसार दाहसंस्कार गर्थ्याैं । सहारा, आशा र भरोसा त गुम्यो नै अब एकमात्र चाहना आनन्दको मुख हेरेर दाहसंस्कार गर्नुछ ।’’
दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मुत्यु भएका आनन्दको शव पहिचान भएको छ । सोमबार साँझ तेल अबिबस्थित नेपाली दूतावासले एक वक्तव्य जारी गर्दै आनन्दको शव पहिचान भएको बताइएको छ ।
सो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये पाँच जनाको शव नेपाल ल्याइसकिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शव ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले शवको पहिचान भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी शव यथाशीघ्र नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
आनन्द पाँच कक्षासम्म गाउँकै बोर्डिङ् स्कुलमा पढ्नुभएको थियो । त्यसपछि उहाँ जनकपुरको एन्जल्स बोर्डिङ् स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । जनकपुरकै मिट कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभएका उहाँले सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा कृषि विषयमा स्नातक पढ्नुभएको थियो । अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । गत भदौ २८ गते मात्र ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी तालिम लिन इजरायल जानुभएको थियो ।