• ९ मंसिर २०८१, आइतबार

आजदेखि प्रथम गुल्मी महोत्सव सुरु

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १५ गते । गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

रेसुङ्गा नगरपालिकाले घोषणा गरेको “जाऊँ हिँड रेसुङ्गा” अभियानको प्रवर्द्धनसँगै पश्चिम नेपालकै सबैभन्दा पुरानो शत्तिपिठ उपल्लो तम्घास खालाकाचौरस्थित तम्घास स्थान मन्दिरको प्रचारप्रसारका लागि आजदेखि महोत्सवको आयोजना गरिएको बताइएको छ । 

यस जिल्लामा रहेका साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य छ । महोत्सवको माध्यमबाट जिल्लाको कृषि, घरेलु औद्योगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र व्यापक प्रचारप्रसार गरिने गुल्मी उद्योग सङ्घका महासचिव सुदर्शन खनालले बताउनुभयो । 

विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरूसँगै यस जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने सङ्घका अध्यक्ष नवराज भुसालले बताउनुभयो । 

महोत्सवमा ३०० स्टल राखिएको छ । आवश्यकता र मागका आधारमा २० वटा स्टल थप गर्न सकिनेछ । स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिने आयोजकले निर्णय गरेको छ । महोत्सवमा एक लाख दर्शक भित्र्याउने लक्ष्यसहित ६० करोड बराबरको कारोबार गर्ने आयोजकले अनुमान गरेको छ । 

महोत्सवमा कृत्रिम खादा, ब्याच र मालामा समेत आयोजकले राेक लगाई स्थानीय स्तरमा उत्पादन भएका फूलको माला, पिपलको पातको ब्याच प्रयोग गरिने भएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल ध्वज पन्थीले महोत्सवको उद्घाटन गर्नुहुनेछ ।