विश्व शान्ति र भाइचाराका पक्षमा क्रियाशील विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई आज आइतबार नेपालले स्वागत गर्दै छ । महासचिव गुटेर्रेसले चार दिन शान्तिप्रेरक गौतम बुद्धको जन्मभूमिको भ्रमण गर्दै हुनुहुन्छ । विश्वका विभिन्न देश आपसी द्वन्द्व, कलह र युद्धमा फसिरहेका बेला महासचिव गुटेर्रेस घरेलु द्वन्द्वलाई मौलिक ढङ्गले शान्तिमा परिणत गरिरहेको नेपालको भ्रमणमा लालायित रहनुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाँदा दिनुभएको निमन्त्रणा स्वीकार गरेर महासचिव गुटेर्रेस यसअघि नै यो भ्रमणमा आउने कार्यक्रम थियो तर प्यालेस्टिनी स्लामिक समूह हमासको आकस्मिक आव्र्र्र्रmमणपछि चर्केको इजरायल–हमास युद्धको कारण भ्रमण स्थगन गर्नु परेको थियो । विभिन्न देश अतिवादी युद्धमा जेलिइरहेको, एकअर्काबिच धाकधम्की र शक्ति प्रदर्शनमार्फत मानव समुदायलाई त्रसित पार्न हौसिइरहेका बेलामा महासचिव गुटेर्रेसको शान्तिभूमि नेपालको भ्रमणबाट यो विश्वसंस्था शान्ति प्रवर्धन र प्रोत्साहनमा दृढ रहेको सन्देश प्रवाह हुने नै छ । यति मात्र नभई विश्व चासोकै रूपमा रहेको, मानव समुदायको सुरक्षामाथि चुनौती दिने द्वन्द्व सिर्जना गर्न सक्ने जलवायु परिवर्तन न्यूनीकरण हेतु काम गरिरहेको राष्ट्रसङ्घको उच्चस्तरीय भ्रमण दलले अवश्य पनि विकसित मुलुकहरूका कारण नेपाल जस्ता कोमल राष्ट्रले भोग्नुपरेको पर्यावरणीय असरको प्रत्यक्ष अवलोकन गरेर आफ्ना सहयोग रणनीतिहरूलाई बलियो बनाउन सक्ने छ ।
नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेलगत्तैदेखि राष्ट्रसङ्घको विश्व शान्ति स्थापना कार्यमा प्रभावकारी योगदान पु¥याउँदै आएको छ । सन् १९५८ मा पाँच जना सैन्य पर्यवेक्षक लेबनान पठाएर राष्ट्रसङ्घको शान्ति मिसनमा सहभागिता जनाएको नेपालले त्यसयता झन्डै डेढ लाख फौज उपलब्ध गराइसकेको छ । नेपाली सैनिक तथा प्रहरी विभिन्न शान्ति मिसनमा रहेर गरेको कार्यबाट प्रभावित भएर संयुक्त राष्ट्रसङ्घले नेपाललाई आफ्नो भरपर्दाे सहयोगीका रूपमा विश्वास गर्छ । शान्ति मिसनका लागि सुरक्षाकर्मी उपलब्ध गराउने देशहरूको सूचीमा दोस्रो नम्बरमा पुगेको नेपालका शान्ति सैनिकले पु¥याएको योगदानको उच्च कदर गर्दै महासचिव गुटेर्रेस स्वयम्ले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पटक पटक गरेको नेपालको प्रशंसा सुन्दा नेपालीले गौरव गर्छन् ।
सन् २०१७ मा महासचिवको पदभार ग्रहण गरेपछि गुटेर्रेसले पहिलो पटक नेपाल भ्रमण गर्न लाग्नुभएको हो । नेपाल भ्रमणमा रहँदाको अवसर पारेर नेपाल सरकारले कात्तिक १४ गते सङ्घीय संसद्मा उहाँको सम्बोधन कार्यसूची तय गरेको छ । भ्रमण क्रिममा महासचिव गुटेर्रेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायत विशिष्ट व्यक्तित्व एवं स्थानीय समुदायसँग पनि कुराकानी गर्नु हुने कार्यक्रम छ । शिष्टाचार भेट, विशेष कुराकानी र अन्तरसंवाद विश्व चासोकै रूपमा रहेको नेपालको शान्ति प्रक्रिया, जलवायु अनुकूलन र राष्ट्रसङ्घीय विकास कार्यक्रमहरूका लागि सहयोग वृद्धिमा केन्द्रित रहने अनुमानयोग्य नै छ ।
नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घीय मिसन अनमिनको सहयोग रहेको स्मरणीय छ । अनमिनको चारवर्षे कार्यकालपछि नेपाल आफैँले तत्कालीन विद्रोही माओवादी लडाकुको व्यवस्थापन गरे पनि सत्य निरूपण तथा बेपत्ता छानबिनको कार्य अझै सम्पन्न हुन सकेको छैन । यस सन्दर्भमा रहेको विश्व चासोलाई प्रधानमन्त्री प्रचण्ड स्वयम्ले राष्ट्रसङ्घीय महासभामा जाँदा सकारात्मक सन्देश दिनुभएको स्मरणीय छ । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगसम्बन्धी कानुन निर्माणका लागि राजनीतिक दलहरूबिच सहमतिको प्रयास चलिरहेकै बेला महासचिव गुटेर्रेसको भ्रमण नेपाली राजनीतिक नेतृत्वका लागि प्रेरक बन्ने स्वाभाविक अपेक्षा छ ।
नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथासहितका हिमालय क्षेत्रमा कडा असर पारिरहेको छ । विकसित र शक्तिशाली मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रिमले हिमालको हिउँ पग्लँदै जानु विश्वकै चासोको विषय छ । शारदीय खुला आकाशको वातावरण छ र यो हिमाल दृश्यावलोकनको सर्वोत्कृष्ट समय पनि हो । जलवायु परिवर्तनका कारण तल्लोतटीय क्षेत्रका जलस्रोतको उद्गम भण्डार हिमालको हिउँ पहिले कहाँसम्म हुन्थ्यो र अहिले कसरी पग्लिरहेको छ भन्ने प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यो अवलोकन अनि हिमाली क्षेत्रका प्रभावित समुदायसँगको संवादले राष्ट्रसङ्घीय उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपालले जलवायु परिवर्तनका सन्दर्भमा विश्वमञ्चमा राख्दै आएको अडानप्रति अवश्य पनि संवेदनशील बनाउने विश्वास छ । आगामी नोभेम्बर महिनामा संयुक्त अरब इमिरेट्समा हुने जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कोप–२८ सम्मेलनका रणनीति तय गर्न यो भ्रमण अवश्य पनि शिक्षाप्रद हुने छ ।