सिराज खान
नेपालगन्ज, कात्तिक ९ गते । बाँके जिल्लाको चारवटा पालिकामा साढे १० हजार जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।
रोजगारीका लागि विदेश जाने र जान चाहनेलाई लक्षित गरेर जिल्लामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत चार पालिकाका सम्बन्धितलाई सो सेवा प्रदान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालन भइरहेको सो कार्यक्रममार्फत १० हजार ५०२ जनालाई वैदेशिक रोजगारसम्बन्धी व्यक्तिगत तथा सामूहिक परामर्श सेवा प्रदान गरेको जनाइएको छ ।
कार्यक्रमका संयोजक कमलसिंह नेपालीले एक वर्षमा चार हजार ५०० लाई परामर्श सेवा दिने लक्ष्य रहे पनि दोब्बर सङ्ख्यालाई सेवा प्रदान गरिएको बताउनुभयो । उहाँले स्वयंसेवक परिचालनमार्फत घरभेट गरेर मात्र चार हजार ४७६ लाई सेवा प्रदान गरिएको बताउनुभयो ।
यस्तै, वैदेशिक रोजगारीमा जान चाहने सम्भावित कामदारलाई ८ पटक गहन अभिमुखीकरण कार्यक्रम गरेर परामर्श दिइएको कार्यक्रमका संयोजक नेपालीले बताउनुभयो ।
उहाँले १६ पटक समुदाय अभिमुखीकरण कार्यक्रम, प्रहरी र पत्रकारसँग १–१ पटक अन्तरक्रिया, समुदायका अगुवालाई आप्रवासनको असर तथा प्रभाव तथा कामदारलाई सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरणसम्बन्धी कार्यक्रम ४ पटक गरिएको बताउनुभयो ।
संयोजक नेपालीका अनुसार स्थानीय तहमा मनोसामाजिक विषयको दिगोपनका लागि अन्तरक्रिया कार्यक्रम २ पटक, स्थानीय तहको विषयगत शाखासँग अन्तरक्रिया १ पटक र सुरक्षित वैदेशिक रोजगारको सवालमा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम ४ पटक गरिएको छ ।
यस्तै, कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार कार्यक्रम व्यवस्थापन समितिको पालिकास्तरीय बैठक ८ पटक, स्थानीय सरकार कार्यक्रम समन्वय समितिको बैठक २ पटक र सम्बन्धित सरोकारवालाबाट परियोजना अनुगमन तथा मूल्याङ्कन ८ पटक भएको जनाइएको छ ।
कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप सेवा प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले १६ जनालाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको बताउनुभयाे । व्यक्तिगत मनोसामाजिक परामर्श सेवा पाउनेको सङ्ख्या ६४ रहेको उहाँको भनाइ छ ।
नेपालमा २०६७ सालदेखि सुरु भएको यो कार्यक्रम अहिले देशभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको ओलीको भनाइ छ ।