शिवशंकर मिश्रा
बारा, वैशाख ३० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
गत वैशाख २२ गते उद्योग परिसरमा ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक भएको विस्फोटमा परी गम्भीर घाइते भएका पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चनरदिप यादवको मङ्गलबार उपचारका क्रममा निधन भएको बारा प्रहरीले जनाएको छ ।
घटनापछि उपचाररत यादवको मृत्यु भएपछि स्थानीयवासी र परिवारजन आक्रोशित बनेका छन् । उनीहरूले उद्योग प्रशासनको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
मृत्युको खबर सार्वजनिक भएसँगै उद्योग परिसर तथा आसपास क्षेत्रमा प्रदर्शनसमेत गरिएको थियो । स्थानीयले उद्योगमा सुरक्षा मापदण्डको बेवास्ता गरिएको आरोप लगाएका छन् ।
पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धानका लागि उद्योगसँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।