• २० असोज २०८१, आइतबार

चार हजारभन्दा बढी भक्तजनलाई प्रसाद वितरण

blog

भक्तजनलाई प्रसाद वितरण गर्दै संस्थाका सदस्यहरु। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ९ गते  । बाँकेको नेपालगन्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजारभन्दा बढीले प्रसाद ग्रहण गरेका छन् ।

फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात् भण्डाराबाट गरिएको हो । नेपालगन्ज २१ मा स्थापना भएको फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम आयोजना गरेको जनाएको छ । 

बडा दसैंको घटस्थापनाको दशौ दिनसम्म दुर्गा मूर्तिको पूजाराधना गर्ने र ११ औं दिनमा मूर्ति विसर्जन गर्ने धार्मिक परम्परा सदियौंदेखि चलिआएको छ । विसर्जनको अवसरमा बुधबार  साहपुर्वा चोकमा भण्डाराको आयोजना गरिएको थियो । 

‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालु आर्थिक वर्षको साउनदेखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्रभन्दा बाहिर सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गरेको संस्थापक अध्यक्ष सङ्गीता पाठकले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,  ‘संस्थाको उद्देश्यबारे धेरै विषयवस्तु फाउन्डेसनको नाराबाटै थाहा पाइन्छ । यस संस्थाले मुख्य रुपमा महिला र उनीहरुको जीवनस्तर उकास्न विभिन्न गतिविधि अभियानका रुपमा चाल्ने लक्ष्य लिएको छ ।’

यस्तै, संस्थाका महासचिव अजय पाठकले बजार क्षेत्रभन्दा बाहिर कार्यक्रम आयोजना गरेर अझै प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार चार हजारभन्दा बढी व्यक्तिले प्रसाद ग्रहण गरेका छन् । 

यस्तै, फाउन्डेसनका कोषाध्यक्ष रामदिन मोदीले अहिले संस्थाको सुरुवात भए पनि आगामी दिनमा फाउन्डेसनमार्फत विभिन्न कार्यक्रम आयोजना गरिरहने साथै महिलाको हक हित र सशक्तिकरणका लागि अभियानका रुपमा अगाडि बढ्ने बतााउनुुभयो ।

हालै मात्र स्थापित फाउन्डेसनको सञ्चालक समिति अध्यक्षमा सङ्गीता पाठक, उपाध्यक्षमा शिवम गुप्ता, कोषाध्यक्षमा रामदिन मोदी, महासचिवमा अजय पाठक र सदस्यमा राजकुमार लोध रहनुभएको छ ।

फाउन्डेसनले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै माहिलाका लागि विशेष काम गर्ने, आर्थिक रुपमा कमजोर वा असहाय परिवारका बालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अति विपन्न परिवारका बालिकाको सामाजिक, रीतिरिवाज तथा धार्मिक परम्पराअनुसार सामूहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिनुभयो ।