• २० असोज २०८१, आइतबार

पूर्व राष्ट्रपति भण्डारीद्वारा नेपालीमा बडादसैंको शुभकामना

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ५ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको हो । 

असत्यमाथि सत्य र न्यायको विजयको प्रतीकको रुपमा मनाइने दसैंको आर्थिक तथा सामाजिक पक्ष बलियो रहेको उहाँले चर्चा गर्नुभएको छ । पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, ‘हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका  रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्त्वपूर्ण रहेको छ ।”

दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष रहेको उहाँको भनाइ छ । दसैंले समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको उहाँले चर्चा गर्नुभएको छ । सन्देशमा भन्नुभएको छ, ‘ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक छ । कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका  माध्यममा आएको परिवर्तनका कारण  मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनुपर्दैन ।”

देश विदेशमा रहेका परिवारका सदस्यबीचको पुनरमिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले बडादसैंले परिवार, समाज र राष्टलाई भावनात्मक रुपमा एक बनाएको उहाँले सन्देशमा चर्चा गर्नुभएको छ । 

नेपाली चाडपर्वले देशको विविधतालाई थप मजबुत बनाउने काम गर्ने विश्वास व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले दसैँ २०८० ले सबै नेपालीमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वास गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।