• ११ पुस २०८१, बिहिबार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एङ्गोला जानुहुँदै

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ४ गते । अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तरब्यबस्थापिका सङ्घ (आइसियु) को १४७ औँ महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राति  एङ्गोला प्रस्थान गर्नुहुने भएको छ ।  

अध्यक्ष तिमिल्सिना एङ्गोलामा कात्तिक ६ देखि १० (अक्टोबर २३—२७) मा हुने १४७ औँ महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राति १.५५ बजे  त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । 

“शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता” नाराका साथ सम्पन्न हुने महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य रुपा सोसी चौधरी र सन्तोष परियार रहनुभएको छ । त्यस्तै, सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ (प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा रहनुभएको छ ।  

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डी होस र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरसँग पनि भेटवार्ता गर्नुहुनेछ । 

यसैगरी आइसियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधि सभा सदस्य सन्तोष परियार र फोरम अफ वेमन्स पार्लियामेन्टसमा प्रतिनिधिसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउनुहुनेछ । महासभासँगै संसद्का महासचिवको सङ्गठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमका बैठकमा सङ्गठनको कार्यकारी सदस्य समेत रहनुभएका सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सहभागिता जनाउनुहुने कार्यक्रम छ ।