यस वर्षको दसैँको उमङ्ग सबैभन्दा बढी जन्मभूमि छाडेर विदेशलाई आफ्नो बनाएका गैरआवासीय नेपालीमा छाएको छ किनभने अब उनीहरूले यहाँको पनि नागरिकता पाउन थालेका छन् । कानुनतः विदेशी बनेका गैरआवासीय नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनका सिलसिलामा काठमाडाैँमा आएका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनआरएनए अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई नेपाली नागरिकता प्रदान गर्नु भएपछि अब सबै गैरआवासीय नेपाली र तिनका सन्तानले संविधानबमोजिमको नेपाली नागरिकता पाउने भएका छन् । नेपालमै जन्मी हुर्की नेपालकै राहदानी बोकेर विदेश पुगी उतैको नागरिकता प्राप्तिमा रमाई उतैलाई कर्म र धर्मभूमि बनाएका भए पनि नेपालले आफ्ना सन्तानप्रति गरेको माया र राखेको आशाको डोरो हो– फेरि नागरिकता । यसका आधारमा नेपालमा राजनीतिकबाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने त्यस्ता नागरिकले अब मातृऋण चुक्ता गर्ने नेपालीत्व प्रदर्शन गर्नु अपेक्षित छ ।
यतिखेर एनआरएनएको विश्व सम्मेलनसँगै एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएनए ज्ञान विश्व सम्मेलन काठमाडौँमा चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यो सम्मेलनको उद्घाटन गर्दै विश्वको जुनसुकै कुनामा पुगेर रहे पनि नेपाली नेपाली नै हुने धारणा व्यक्त गर्नुभयो । नेपाल र नेपालीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको भूमिका हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइमा मातृऋण चुक्ता गर्नुपर्ने नेपाली संस्कारगत अपेक्षा छ । नेपालमा विकास हुन सकेन, आफ्नो सुखी भविष्य देखिएन भनेर विकसित मुलुकमा गएकाहरूले अवश्य पनि ती मुलुक कसरी विकसित बने भन्ने बुझेकै हुनु पर्छ । विकसित, समृद्ध देश त बनिबनाउन कुनै हुँदैन, त्यहाँकै जनताले बनाउने हो ।
नेपालीमा आफ्नो देश आफैँ समृद्ध बनाउनु पर्छ भन्ने जागरणभन्दा अरूले बनाइदेओस्, अरूले विकसित बनाएका ठाउँमा गएर सुविधाभोग गर्न सकियोस् भन्ने परनिर्भर चेतना बलियो भयो । भूमण्डलको यो क्षेत्रकै पुरानो स्वाभिमानी सभ्यतासहितको राज्य भए पनि देश समृद्ध बनाउने राज्य व्यवस्था र नेतृत्व नहुँदा युवा जनशक्तिले यहाँ आफ्नो भविष्य देखेन । सुरक्षित सुखी भविष्य खोज्ने मानवीय गुण नै हो । त्यसैले युवा शक्ति विदेशतर्फ लोभियो । उसले स्वदेश नै त्यागेर विदेशलाई नै आफ्नो बनायो । लाखौँ नेपाली गैरआवासीय नेपाली बने । यो विडम्बना यहीँ रोक्न अब राज्यले तीव्र विकास र समृद्धि लक्ष्य हासिल गर्न लागिनपर्ने हो भने देश अल्पसङ्ख्यक वृद्ध नागरिकको मात्र बन्ने अवस्था आउन धेरै दशक लाग्ने छैन ।
विदेशकै नागरिकता लिए पनि नेपाली सन्तानमा मातृभूमिप्रति, यहाँको समाज, संस्कृतिप्रतिको अपनत्व यथावत् छ । उनीहरू आफ्नो भविष्य सुरक्षाका लागि विदेशी बने पनि देशको भविष्य राम्रो बनोस् भन्ने शुभेच्छा सामाजिक सञ्जालमार्फत छर्छन् । जन्मभूमिप्रतिको चिन्ता र शुभेच्छा वास्तविक हो भने अब उनीहरूले नेपाल समृद्ध बनाएर आफ्ना सन्तानलाई नेपालमै फर्काउने अवस्था सिर्जना गर्न हातेमालो गर्नु पर्छ । त्यसका लागि पहिलो आवश्यकता हो, तिनीहरूले सिकेको ज्ञान, सिप र कमाएको धनको लगानी नेपालमा गर्नु । त्यही अपेक्षा पनि हो, नेपाल राज्यले गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्था गरेको । आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित रहेको नेपालमा लगानीको ठुलो सम्भावना छ । बजार छ । सरकारले लगानीका लागि उपयुक्त नीति वातावरण तयार पारिरहेको छ ।
संवैधानिक रूपमै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारप्राप्त नेपाली भूमिपुत्रहरूले यहाँ लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्ने भूमिका र दायित्व वाञ्छनीय छ । लामो समयदेखि नेपाली नागरिकता दिनुपर्ने गैरआवासीय नेपालीले राख्दै आएको माग सम्बोधन गर्दै नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको छ । राज्यको नागरिकता पाउनु भनेको आफूमाथि ठुलो जिम्मेवारी थपिनु पनि हो । ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भनेर सुरुदेखि उठाएको अभियान पूरा भएको छ । अब नेपालमै हड्डी खियाइरहेकाहरूलाई गाली र कुराले होइन, कामले नेपालको विकासमा सघाउनु पर्छ । जन्मभूमिबाट उनीहरूले अधिकार पाएका छन्, दायित्व पूरा गर्ने अभिभारा उनीहरूमा छ । जारी एनआरएनए विश्व सम्मेलनले आफ्ना सारा सदस्यमा यो दयित्वबोध गराउन सकोस् ।