• २८ पुस २०८१, आइतबार

एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री

blog

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : अर्थमन्त्रीको सचिवालय

काठमाडौं, असोज ३० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् ।’’

युवाहरूलाई लागिरहेको होला, यहाँ केही छैन, अरू गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री डा. महतले भन्नुभयो, ‘‘यहाँ अवसर छ, अरू देश भौतिक रूपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पुर्जाका रूपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सूक्ष्म चाहिन्छ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो । अहिले निजी क्षेत्रबाट ३ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । सयौँ आयोजनामा हजारौँ नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैङ्कको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैङ्कले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौँ ।’’


‘‘आर्थिक वृद्धिको महत्त्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौँ, अब यसमा गैरआवासीय नेपाली साथीहरू जोडिनुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘हामी बुढिगण्डकी जलाशययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौँ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ । बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।’’

जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा. महतले भन्नुभयो, ‘‘अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरू फर्किदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरूले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौँ । अनुदार र करको सुरक्षा सरकारले गर्छ । यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’’

‘‘नेपालमा धेरै नकारात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाऊ । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरूले केही गर्दैनन्, यिनीहरू बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘सबै चोरै हुन्, सबै फटाहा हुन् भनेर एउटै बास्केटमा नहालौँ । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौँ । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईँहरूले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’’


०४६ सालपछि हाम्रो कूलग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औषत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा. महतले जानकारी दिनुभयो । राजश्व अनुपात कुलग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुँच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बालमृत्यु दर २७ मा झरेको छ । २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा. महतले जानकारी दिँदै भन्नुभयो, ‘‘यसका बाबजुद हामीले यो उपलब्धि हासिल गर्‍यौँ भनेर सन्तुष्ट हुने ठाउँ छैन, अपेक्षा अत्यन्त ज्यादै छ ।’’

‘‘सामाजिक सञ्जालका जमाना छ । संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरू यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपङ्क्तिमै छौँ,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘हिजो के थियो, के कारणले गर्न सकेनौँ भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरू देश त्यहाँ पुगिसक्यो, तिमीहरूले किन पुर्‍याएनौँ ?’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘द्वन्द्व, अस्थिरता, भूकम्पलगायत हामी अनेकौँ कठिनाइबाट गुज्रियौँ । त्यही एक्सक्युजेज दिएर चित्त बुझाउन सक्दैनौँ । यसकारण हामीले भविष्यको सुस्पष्ट मार्गचित्रका साथ जति हामीले गर्‍यौँ, यतिले पुगेन, जति प्रयास हिजोदेखि आजको दिनसम्म भयो, यतिले पुगेन, एउटा लक्ष्य, इमान्दारिता र समर्पणका साथ अब ज्यादा काम गर्नुपर्ने चुनौती छ ।’’

‘‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले राँकिनु हुँदैन । पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौँ नेपालीहरूले आफ्ना आकाङ्क्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन्,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘तर के सधैँ बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरू फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सूक्ष्म दृष्टिले हेर्नुपर्छ ।’’