• १३ साउन २०८१, आइतबार

हुप्सेकोटका महिला पिँडालु खेतीमा आत्मनिर्भर

blog

हुप्सेकोट –१ जुकेपानीमा गरिएको पिडालु खेती । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज ३० गते । पूर्वी नवलपरासीको हुप्सेकोट–१ का महिला अर्ग्यानिक खेतीसँगै पिँडालु खेतीमा आत्मनिर्भर बनेका छन् । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायत बाली नहुने भएपछि महिला पिँडालु खेतीमा लागेका हुन् ।

यहाँका अधिकांशले पिँडालु खेती गर्दै आफ्नो जीविकोपार्जन गर्नेगरेका छन् । जुकेपानीका २५ घरधुरीले पिँडालु खेतीबाट आफ्नो घरखर्च चलाउँदैआएका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिका १ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । 

पिँडालु खेतीबाट नै उहाँले आफ्नो घरखर्च धान्दैआएको बताउनुभयो । उहाँले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गर्नुभएको छ । यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरै पिँडालु, वनै पिँडालु ससुराली जाँदा बाह्र हात पिँडालु । जहाँ पनि सजिलै पाइने भएर होला पिँडालुलाई महत्त्व त्यति दिइँदैन । तर पिँडालु जे तरकारीसँग पकाए पनि मिल्छ ।” पिँडालु स्वास्थ्यकर तरकारीमा पर्ने हुनाले अहिले महिला प्रायः यस खेतीतर्फ आकर्षित भइरहेको बताएका छन् ।

अर्की किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दैआएको बताउनुभयो । उहाँले अहिले १० कठ्ठा क्षेत्रफलमा हात्तीपाउ जातको पिँडालु लगाउनु भएको छ । केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गन्थ्यो । अहिले बजारीकरण भएसँगै पिँडालु बिक्री गर्नमा कुनै समस्या नरहेको र विभिन्न स्थानमा निर्यात हुनेगरेको उहाँको भनाइ छ । 

पछिल्ला वर्षमा पिँडालु खेतीबाट लाखौँ रुपियाँसम्म आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । पिँडालु खेतीले यहाँको समुदायलाई सामूहिक रूपमा काम गर्ने परम्पराको विकास समेत गरेको छ । जुकेपानीका तामाङ टोलका २५ घरले पिँडालु खेती गर्दैआएको उहाँले बताउनुभयो ।

सबै घरका मिलेर सामूहिक रूपमा अर्मपर्म गरेको स्थानीय सम्झना तामाङले बताउनुभयो । तामाङ टोलमा एउटै परिवारले वार्षिक ५० क्विन्टलभन्दा धेरै पिँडालु उत्पादन गर्दैआएका छन् ।