• ७ जेठ २०८१, सोमबार

चार सय केभी क्षमताको दोस्रो ठुलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न

blog

फाइल तस्बिर

काठमाडौँ, असोज ३० गते । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो चार केभी सबस्टेसन निर्माण सम्पन्न गरी सोमबार साँझ चार्ज गरिएको हो ।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठुलो सबस्टेसन हो । इनरुवामै २२०-१३२-३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००-२२० केभी इनरुवा सबस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता नौ सय ४५ एमभिए छ । इनरुवा-ढल्केर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत आदान प्रदान हुन सक्नेछ । इनरुवा-ढल्केर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निर्माणाधीन सबस्टेशन तथा प्रसारण लाइन निर्माणलाई तीव्रता दिन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आउन नदिन सबै उपाय अवलम्बन गर्नसमेत निर्देशन दिनुभएअनुसार सब स्टेसन निर्माण सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रूपमा रहेको बताउनुभयो ।

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्तिसमेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ, यही सबस्टेसनबाट भारतसँगको विद्युत व्यापारका लागि इनरुवा-पूर्णतया चार सय केभी अन्तर्देशीय र नेपाल, भारत तथा  बङ्गलादेशबिचको व्यापारका लागि इनरुवा-अनारमनी चार सय केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठुलो हब बनेको प्राधिकरणको बुझाइ छ । मोरङ-सुनसरी औद्योगिक कोरिडोरका उद्योगलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्त्वपूर्ण मानिएको छ ।  

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी कोरिडोर दुई सय २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ । कोशी कोरिडोरको इनरुवा-बसन्तपुर-तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर-ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । 

यस्तै, तुम्लिङटार-शीतलपाटी दुई सय २० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हव-इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ । आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको बताउनुभयो । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । 

वि.सं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गर्नुभयो । आयोजना अन्तर्गत नै चार सय केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौँडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौँडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो । 

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत एक करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख  छ । सबस्टेसन निर्माणको सुपरिवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो । रासस