• २८ पुस २०८१, आइतबार

सरकारले सुदूरपश्चिमलाई विशेष प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

blog

कैलालीको गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली) असोज २९ गते । 
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गरेको बताउनुभएको छ । सोमबार गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको भावनालाई सम्मान गर्दै सुदूरपश्चिममलाई विशेष प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

उहाँले गेटा अस्पताललाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणमा सहमति, महाकालीमा पुल अनुदानमा बनाउने, राजमार्ग निर्माण लगायतका आयोजनामा सरकारले गम्भीर चासोका साथ काम गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले सुविधासम्पन्न भवन निर्माणसँगै त्यस्तै खालको सेवासुविधा जनतालाई दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी सुविधा सम्पन्न भवन  बनेको छ त्यसैगरी जनताले सेवासुविधा पाउनुपर्छ ।”

यसैगरी, प्रधानमन्त्री प्रचण्डले आजै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको छ । नेपाल सरकार योजना आयोगको चालु आर्थिक वर्षमा एक करोड पचास लाख अनुदान सहयोगमा उक्त भवन निर्माण हुने भएको हो ।


भवन शिलान्यास कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभयो । दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ सालमा सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको बताउनुहुँदै तेस्रो पटक आफू प्रधानमन्त्री भएपछि कार्यान्वयन प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा छ वटा क्याम्पसका लागि नौ करोड विनियोजित रकममध्ये  प्रत्येक क्याम्पसलाई डेढ करोड रकम विनियोजन गरिएको जनाउनुहुँदै दरबन्दीका विषयमा समेत आवश्यक निर्णय गरिसकेको बताउनुभयो । २०७३ सालमा मन्त्रिपरिषदबाट निर्णय भएता पनि ढिलासुस्तीका कारण अन्यौलता परेको भन्नुहुँदै शीघ्र निर्णयका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाको विकासका सन्दर्भमा नगर प्रमुख खडकबहादुर रावतले ज्ञापन पत्र बुझाउनुभएको थियो ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको संरक्षण र पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाई काम थालेको आफूलाई अवगत भएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बिहान लम्कीमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्णबहादुर बडूवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नु भएको थियो ।


प्रधानमन्त्री प्रचण्डले इजरायल आक्रमणमा ज्यान गुमाएका घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने लगायत १० जना मृतकको परिवारलाई समवेदना व्यक्त गर्नुहुँदै यथाशीघ्र मृतकको लास ल्याउन सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको पहलमा पाँच जनाको शव प्राप्त भएको र बाँकी पाँच जनाको समेत प्राप्त गर्ने प्रक्रियामा लागेको बताउनुभयो । उहाँले मृतकको खोजी कार्यलाई सरकारले तीव्रता दिएको प्रष्ट पार्नुभयो ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी जनाउनु भएको हो ।


यो पनि पढ्नुहोस