• २९ वैशाख २०८३, मङ्गलबार

खाद्य पसलमा म्याद नाघेका वस्तु

blog

बैतडी समाचारदाता 

बैतडी, वैशाख २९ गते । बैतडीका खाद्य पसलमा म्याद नाघेका वस्तु भेटिएका छन् भने नास्ता तथा मिठाई पसलमा प्रयोग हुने खाद्य तेल पटक पटक तताएर परिकार पकाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने तत्व भेटिएको छ । त्यस्ता खाद्य वस्तुको नमुना सङ्कलन गरेर प्रयोशालामा परीक्षण गर्दा चार वटा वस्तुमा गम्भीर समस्या फेला परेको हो ।  

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमन गर्दा चालु आर्थिक वर्षमा मात्रै दुई लाख ५० हजार रुपियाँभन्दा बढी मूल्यको म्याद नाघेका खाद्य वस्तु फेला पारेर नस्ट गरेको छ ।  

 गत शनिबार पुर्चौडी नगरपालिकाको हाटबजारका १० वटा पसल अनुगमन गर्दा २६ हजार रुपियाँभन्दा बढीका अखाद्य वस्तु फेला पारेर नस्ट गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । चालु आर्थिक वर्ष २०८२/८३ मा बैतडी र दार्चुलाका करिब पाँच सय वटा पसल, होटेल तथा रेस्टुराँको अनुगमन गर्दा खाने तेलमा गम्भीर समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन बैतडीका कार्यालय प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत विक्रम श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “एक पटक कराईमा खन्याएको खाने तेल पटक पटक तताएर परिकार पकाउँदा हानिकारक बनेको फेला पारेका छौँ । जसलाई हामी टोटल पोलार मेटेरियल्स (टिपिएम) भन्छौँ । तेल तताउँदा यो मात्रा २५ प्रतिशतभन्दा बढी भयो भने खान योग्य मानिँदैन तर बैतडीमा ३० देखि ४९ प्रतिशतसम्म खराब तत्व भेटाएका छौँ । यस्तो तेलमा पाकेका परिकार खाएमा मुटुसम्बन्धी रोग र क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।” उहाँले चालु आवमा बैतडी र दार्चुलामा भेटिएका अखाद्य वस्तुमध्ये ८४ वटा नमुना परीक्षणका लागि पठाएको श्रेष्ठले बताउनुभयो । उहाँले तीमध्ये ५४ को नतिजा आउँदा चार वटा खाद्य वस्तुमा जन स्वास्थ्यमा गम्भीर असर गर्ने तìव भेटिएकाले मुद्दा दर्ता गर्ने तयारी भइहेको बताउनुभयो । 

म्याद नाघेका खाद्य वस्तुमा प्याकेटका मिठाई, चाउचाउ, सस, बिस्कुट, नमकिन, चिउरा, मसला, अचार, मैदा जस्ता वस्तु बढी पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा अनुगमनको दायरा फराकिलो बन्न सकेको छैन ।  बैतडी र दार्चुलाका जिल्ला हेर्ने गरी बैतडीको गोठालापानीमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा दरबन्दीका कर्मचारी नहुँदा एक जना प्रमुख र सहयोगीमा भरमा दुई जिल्लाको बजार अनुगमन गर्नु परेको खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले बताउनुभयो ।  

स्थानीय तह र उपभोक्ता जागरुक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । पहाडी जिल्लामा सधैँ म्याद नाघेका वस्तु भेटिने गरेको विषयमा उद्योग वाणिज्य सङ्क बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले तराईका जिल्लाबाट पहाडी जिल्लामा आउने खाद्य वस्तु म्याद सकिने बेलाको आउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “खाद्यान्नमा परनिर्भर रहेका बैतडीसहित सुदूरपश्चिमका सात पहाडी जिल्लामा पठाउने सामानका बारेमा अन्तरजिल्लाको नाकामै परीक्षण जरुरी भइसक्यो ।” 

म्याद नाघेको खाद्य वस्तु सचेत उपभोक्ता बस्ने मुख्य बजारभन्दा पनि ग्रामीण क्षेत्रका साना पसलमा बढी पाइने गरेको उपाध्यक्ष भट्टले बताउनुभयो ।  ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि तराईका जिल्लाबाट माल सामान बोकेर ट्रक र मिनी ट्रक सिधै गाउँमा पुग्ने गरेका छन् । सरोकारवाला निकायले निरन्तर अनुगमन हुनुपर्ने उहाँले बताउनुभयो । स्थानीय तहको सरकारलाई बजार अनुगमन गर्ने अधिकार भए पनि कार्यान्वयन नहुँदा जिल्ला प्रशासन आफैँ खटिनु परेको सूचना अधिकारी सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमनको अधिकार भए पनि बजार अनुगमन गर्ने वातावरण सिर्जना नभएको बताउनुभयो ।