• २० असोज २०८१, आइतबार

नेपालगन्ज–लखनउ सिँधा बस सेवा सुरु हुँदै

blog

नेपालगन्ज–लखनउ आवागमन गर्ने बस । तस्विर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज २७ गते ।
 पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जलाई भारत उत्तरप्रदेशको राजधानी लखनउसँग प्रत्यक्ष सम्पर्क जोड्नका लागि नेपाली यातायात व्यवसायीले बस सेवा सञ्चालन गर्न लागेका छन् ।

बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलका अनुसार घटस्थापनाका दिन असोज २८ गते आइतबारबाट नेपालगन्जदेखि भारतको लखनउसम्म सिँधा बस सेवा सुरु गरिने छ ।

उहाँले भारतबाट सिँधै नेपालगन्ज आउन चाहने भारतीय पर्यटक र नेपालगन्जबाट औषधि उपचार लगायत विभिन्न आवश्यक कामका लागि लखनउ जाने नेपालीलाई सो बस सेवाबाट प्रत्यक्ष लाभ मिल्ने बताउनुभयो ।

यातायात व्यवसायी पौडेलले भन्नुभयो, ‘‘घटस्थापनाको दिनदेखि नेपालगन्ज–लखनउ सिँधा बस सेवा शुभारम्भ गर्दैछौँ, हरेक दिन एउटा बस बिहान जाने र बेलुका फर्किने गरी सुविधा सम्पन्न बसको व्यवस्थापन मिलाइएको छ ।’’

त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकिएकाले घटस्थापनाको दिनबाट बस सेवा शुभारम्भ गर्न लागिएको यातायात व्यवसायीको भनाइ छ ।

नेपालगन्ज र कोहलपुरबाट भारतको दिल्लीका लागि प्रत्यक्ष बस सेवा सञ्चालन हुँदै आए पनि लखनउका लागि भने त्यसखालको प्रभावकारी सेवा उपलब्ध थिएन । सो नहुँदा त्यहाँ जाने आउने यात्रुले सीमापारि रुपैडिहाबाट चल्ने बस र अन्य सवारी साधनबाट यात्रा गर्नु पर्ने बाध्यता थियो ।

बस सञ्चालक कम्पनीका प्रतिनिधि पौडेलले दैनिक एउटा बस जाने र अर्को बस फर्किने व्यवस्था तत्कालका लागि गरिएको जनाउँदै यात्रुको चाप बढ्दै गएमा बसको सङ्ख्या बढाउँदै लगिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निकै पहिलेदेखि लखनउका लागि बस सेवाको माग हुँदै आएको हो । बिचमा केही समय सेवा सञ्चालनमा आए पनि निरन्तरता हुन पाएन । त्यसैले अहिले सेवा सुरु गरिएको हो ।’’ 

भारतको लखनउका लागि चल्ने सो बस बाँकेको कोहलपुरबाट बिहान छुट्ने र नेपालगन्जमा होल्ड गरी लखनउ बास बस्न पुग्नेछ  । अर्को बस लखनउबाट साँझका यात्रुहरू लिएर बिहानै नेपालगन्ज आइपुग्ने जनाइएको छ ।

उता, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्ज लखनउ बस सेवा सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्दै यसबाट यहाँको पर्यटन व्यवसाय फस्टाउने र भारतीय पर्यटकलाई आवागमन गर्न सहज हुने जनाएको छ ।

सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगन्जको आर्थिक विकासका लागि भारतका ठुला सहरहरूसँग यातायातका माध्यमबाट प्रत्यक्ष जोडिनु आवश्यक रहेको बताउनुभयो ।