• २० असोज २०८१, आइतबार

थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै

blog

फाइल तस्बिर

नवलपुर, असोज २७ गते । नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धूमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिकरुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धूमधामसँग मनाउँदै छन् । 

लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरूले सामूहिकरुपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणी सभापति ललित चौधरीले बताउनुभयो । आदिमकालदेखि यहाँ थारु समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् । 

कतिपय शैक्षिक संस्थाले यमोसा पर्वकै दिन आन्तरिक परीक्षा कार्यक्रम राखिदिनले ‘यमोसा’पर्वको पुस्ता हस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको थारु अगुवाहरू बताउँछन् । थारु समुदायले मनाउँदै आएको महत्त्वपूर्ण चाडपर्वमध्ये ‘यमोसा’पर्व पनि एक भएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकुमार चौधरीले बताउनुभयो । 

यमोसा पर्व नवलपुर र चितवनका थारु समुदायले मात्र मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् । दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताउनुभयो । 

‘यमोसा’ पर्व यहाँका थारुले दुई दिनसम्म धूमधामसँग मनाउँछन् । यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको उपप्रमुख चौधरीको भनाइ छ । 

दोस्रो दिन अर्थात् आज औँसीको दिन बिहानै पुरुष आफूले दाभी (सिरु÷कांस) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् । 

पहुनीलाई विभिन्न प्रकारका पूलले शृङ्गार गरिन्छ । पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तुहरू) र पानी राखिन्छ । आजको दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् । 

त्यसपछि आफ्नो क्षमताअनुसार नयाँ“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ । छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ । 

छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाएर सकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाएर काइयोले कोरी दिने र फूल सिउरी दिने गरिन्छ । त्यसपछि नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन विद्हरू’ भनिन्छ । 

आजको दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउने थारु समुदायको परम्परा छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बराह झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच÷छ वटा पिङ लगाइन्थ्यो । केटाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठुलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । 

आजको दिन बेलुकीपख केटाकेटीहरू समूहमा मिलेर घर-घरमा ‘यमोसा’खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । यमोसा खाने क्रममा थारुहरूले विभिन्न मौलिक गीतहरू गाउने गर्दछन् । मौलिक थारु लोक गीत, तीम्वार्हा र बराह, पितरी र पित्पित्रायन, पहुनी र छाकी सबै लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा थारुको मौलिक संस्कृतिसँगै गीत सङ्गीतसमेत लोप हुने अवस्थामा पुगेको छ । रासस