• २३ असार २०८२, सोमबार

शिला शालिग्राम डुबानमा

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), असार २३ गते । एसियाकै ठुलो शिला शालिग्राम बर्सेनि डुबानको चपेटामा पर्ने गरेको छ । विगत दुई वर्षदेखि शिला शालिग्राम डुबानमा पर्दै आएको यहाँका स्थानीयले बताउँदै आएका छन् । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीबेनीमा रहेको शिला शालिग्राममा सेतीखोलाले धार परिवर्तन गरेर बग्दा डुबानमा परेको हो । वर्षायामको समयमा कालीगण्डकी नदीको बहाब बढ्नुका साथै सेतीखोलाले धार परिवर्तन गरेर बग्दा पनि यसप्रति सरोकारवाला मौन रहेका छन् । 

तीन जिल्लाका स्थानीय तहले आफूहरूको बजेटले नथेग्ने भएकाले प्रदेश र सङ्घीय सरकारकै भर पर्नु परेको बताउँदै आएका छन् । यसका लागि आफूहरूले पहल गर्दै आएको  उनीहरूले बताए पनि ठोस परिणाम भने आउन सकेको छैन । 

पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले प्रदेश सरकार र केन्द्र सरकारले चासो नदेखाउँदा संरक्षणमा समस्या देखा परेको बताउनुभयो । संरक्षणका लागि आफूले प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दै आए पनि उहाँहरूले गम्भीर रूपमा लिन नसक्दा समस्या भएको उहाँको भनाइ छ । उहाँले पालिकाको बजेटले संरक्षण गर्न सम्भव नदेखिएकाले उहाँहरूको मुख ताक्न आफूहरू बाध्य भएको बताउनुभयो । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिला शालिग्रामको संरक्षणका निम्ति आफू सदैव तयार रहेको बताउनुभयो । उहाँले शिला शालिग्राम संरक्षणमा एक्लैको पहलले नहुने भएकाले संयुक्त रूपमा केन्द्रबाट नै पहल हुनुपर्नेमा जोड दिनुभयो । 

स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले शिला शालिग्रामको संरक्षणका लागि एक पटक संयुक्त बैठक बसेर डिपिआर गर्ने गरी योजना बनाएको स्मरण गर्नुभयो ।